बागलुङ/बागलुङ नगरपालिकाले रायडाँडा विशेष कार्यक्रममार्फत वडा नं. ११ को रायडाँडाका किसानलाई कृषि उपकरण र सामाग्री बितरण गरेको छ ।
व्यवसायिक कृषि पेशा गरेर आयआर्जन बढाउन, बाँदरबाट जोगिने खालका खेतीमा जोड दिन ती सामाग्री बितरण गरिएको हो । किसानका लागि चालु वर्षको विशेष कार्यक्रममार्फत आएको १० लाख र किसानको ५० प्रतिशत साझेदारीमा ल्याइएका १४ वटा मिनिटिलर हलो वितरण गरिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
कृषि सिंचाइका लागि पाइप, ३ वटा हाइटेक टनेल, प्लाष्टिक टनेलका लागि १० थान सामाग्री, अदुवा र बेसारको बीउ बितरण गरिएको हो ।
नगर उपप्रमुख राजु खड्काले ती सामाग्री बितरण गर्दै विशेष क्षेत्रका किसानले उत्पादन विशेष बनाएर बजारमा पठाउन आग्रह गरे । नगरपालिकाले किसानको उत्पादनको बजारीकरणमा साथ दिने समेत उनले बताए ।
सागबाट गुन्द्रक बनाउने, कुटानी पिसानी मिल स्थापनाका काममा पनि नगरले साथ दिएको छ । पुर्वाधारको काम बाहेक आर्थिक विकासका लागि नगरपालिकाले हरेक वर्ष रायडाँडालाई १० लाख रुपैयाँ विनियोजन गर्दै आएको छ । संविधानले पनि विशेष क्षेत्र घोषणा गर्न सक्ने र विशेष कार्यक्रम संचालन गर्ने प्रावधान अनुसार यो क्षेत्र घोषणा भएको थियो ।
पछिल्लो समय बाँदर आतंक बढेकोले अकबरे खुर्सानी, अदुवा लगायतको खेती बढाइएको छ भने धान र मकैजस्ता अन्नखेती भने भैरहेको छ । यहाँका घरघरमा किसानलाई व्यवसायिक बनाएर बसाइ सर्नबाट रोक्ने काम भैरहेको छ । त्यस बाहेक वडामा सडक पुर्वाधार, खानेपानी जस्ता ठुला योजना पनि संचालनमा छन् । ती योजनाले विद्यालय, स्वास्थ्य चौकी र वडाको सेवामा आउनेलाई सहज भएको छ ।
यसैबीच बागलुङ नगरपालिकाले नवलपुरको देवचुली नगरपालिकाको न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताबीच सिकाइ आदानप्रदान कार्यक्रम गरेको छ ।
उक्त नगरपालिकाकी उपप्रमुख पार्वती तिवारी र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कासहित दुवै नगरका न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताले अहिलेसम्म गरेका काम, मेलमिलापको अभ्यास र न्याय निरुपणमा समितिले खेलेको भूमिकाबारे सिकाइ आदानप्रदान गरेका हुन् । यो सिकाइले दुवै नगरका असल अभ्यासको सिकाइ भएको खड्काले जानकारी दिए ।





