पोखरा./ पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाइ ज्ञापन गरेको छ । अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै ६० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली भएका हुन् । उनी पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन् ।
महासंघ एवं पोखरा उवासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीकाे उपस्थितिमा अध्यक्ष श्रेष्ठलाइ पाेउवासंघका अध्यक्ष एवं महासंघ केन्द्रीय सदस्य गोकर्ण कार्कीले आइतबार बधाइ ज्ञापन गरे । केन्द्रीय अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य, जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्णप्रसाद शर्मासहित केन्द्रीय सदस्यहरुलाई सम्मान गर्दै उनले महासंघको इतिहासमा पोखराले दोस्रो अध्यक्ष पाउनु गर्वको विषय भएको बताए । उनले निजी क्षेत्रको मनोवल उकास्न र व्यावसायिक वातावरण निर्माणका लागि अञ्जनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले गृहनगरी पोखरामा गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै संशयको चौबाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा मन, वचन र कर्मले लाग्ने प्रतिवद्धता जनाए । वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहे पनि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ला भन्ने आशा पलाएको उनको भनाइ थियो । नवप्रवर्तन र युवामैत्री नीतिहरु बजेटका राम्रा पक्ष भएको उनको भनाइ थियो । यद्यपि, उनले सम्पत्ति शुद्धीकरणको नाममा उद्योगी÷व्यवसायीमाथि भएको धरपकडप्रति भने चिन्ता व्यक्त गरे ।
‘देशलाई अन्तर्राष्ट्रिय नियमनकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्सको चेतावनीपछि कालोसूचीबाट बाहिर निकाल्ने नाममा सरकारले निजी क्षेत्रमाथि धरपकड बढाएको बताउँदै उनले भने, ‘हामी जिम्मेवार हुनुपर्छ, हामीमाथि पनि औंला ठड्याउने काम भइरहेको छ तर राज्यले पहिला सुन्ने अनि थुन्ने प्रक्रिया अपनाउनु पर्छ । अरुलाई क्षमादान दिने राज्यले किन व्यवसायीको हितबारे सोच्दैन ?’ अध्यक्ष श्रेष्ठले देशमा संविधान संशोधनको बहस चलिरहँदा सामाजिक न्यायसहितको अर्थव्यवस्थाका लागि महासंघले आवाज उठाउने बताए ।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रुपान्तरण गर्छ भन्ने पत्याउँदै गर्दा बहुमतलाई अगाडि सारेर जे पनि गर्न खोजेको आरोप लगाए । देशलाई कालोसूचीमा पर्नबाट जोगाउन भन्दै उद्योगी÷व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाएर सरकाले त्यस्तो छनक दिएको उनको आशय थियो ।
‘निजी क्षेत्रले जनताको चाहना बुझ्नुपर्छ । उपभोक्ताको चाहना संवोधन गर्नुपर्छ । हामी हामी सवै अपराधलाई संरक्षण गर्न सक्दैनौँ तर सरकारबाटै कानूनको उलंघन हुँदा त्यसलाई जायज भन्न सक्दैनौँ,’ उनले भने, ‘राज्य र प्रशासन निजी क्षेत्रप्रति निर्मम हुन्छ । अहिले ब्यूरोक्रेसी सत्तासँग नजिक हुन खोजेको र त्यही बाटोमा अगाडि बढेको छ । त्यसमा हामी गम्भीर हुनुपर्छ ।’
सरकारले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानको नाममा निजी क्षेत्रमाथि प्रहार गर्दा मौन समर्थन नगर्न पनि उनले महासंघको नेतृत्वलाई खबरदारी गरे । विदेशसम्म पनि संयन्त्र भएको महासंघले देशलाई कालोसूचीमा पर्नबाट जोगाउन कुटनीतिक पहल गर्नुपर्ने सुझाव उनको थियो । उनले संविधान संशोधनको मुद्दामा महासंघ प्रष्ट हुनुपर्ने बताउँदै अगाडि भने, ‘संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र लेखिँदासम्म त्यसलाई संसारले स्वीकार्दैन । तपाईं जति चिच्याउनुस्, लगानी आउँदैन । यसमा निजी क्षेत्र प्रष्ट हुनुपर्छ । तीनखम्बे आर्थिक नीतिले पनि लगानी बढाउँदैन । यी विषय सच्याउन पहल गर्नुपर्छ ।’
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद र महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरकृष्ण श्रेष्ठले जिल्ला नगर उद्योग वाणिज्य संघले उठाउने हरेक आवाजलाई अबदेखि महासंघले सुन्ने बताए ।
अर्का उपाध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको महासंघको नेतृत्व निजी क्षेत्रको मनोवल उकास्न हरतरहले प्रयत्नशील रहने बताए ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष इ.सरोज कायस्थले आफ्नो टिम सूचना प्रविधिको विकासका लागि प्रयत्नशील रहने बताए । उनले प्रदेश सरकारले यसअघि नै घोषणा गरेको आइटी पार्क साँच्चिकै आइटीपार्क बन्नुपर्नेमा पनि जोड दिए ।

एनवाईईएफको नयाँ कार्यसमितिलाई बधाई
पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष इ.सरोज कायस्थसहितको टिमलाई बधाई ज्ञापन गरेको छ । पोउवा संघ एनवाईईएफ पोखराको संरक्षक हो । एनवाईईएफको प्रेसिडेन्ट इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्सल बिजुक्छे, प्रोग्राम चेयरमा सुरज श्रेष्ठ तथा फाइनान्स चेयरमा नुरज बाटाजु चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरूमा मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा, सिर्जन श्रेष्ठ, लक्षनराज श्रेष्ठ र अस्मित भारी निर्वाचित भएका छन् । यसअघि मञ्चको नेतृत्व समेज राजभण्डारीले सम्हाल्दै आएका थिए ।





