बागलुङ/परम्परागत दलको किचलोको विरोध र भ्रष्टाचार विरुद्द चर्को नारा लगाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा धमाधम असहमतिका आवाज आउन थालेका छन् ।
शनिबारदेखि सुरु भएको जिल्ला अधिवेसनमा बागलुङमा पनि व्यापक असहमति र विरोध बढेको छ । रास्वपाभित्र पहिलो अधिवेसनमै गम्भिर असहमित चुलिएको हो । शनिबार र आइतबार तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको पहिलो जिल्ला अधिवेशनमा विधि र प्रकृया मिचिएको भन्दै कार्यकर्ताले घोषित नेतृत्व नमान्ने बताएका छन् ।
शनिबार बेलुकी घोषणा गरिएको समितिलाई अवैध भन्दै अध्यक्षका दाबेदार ढालेन्द्र रायमाझी र गलकोट नगर अध्यक्ष राजेन्द्र पुनले विज्ञप्ती निकालेर विरोध गरेका छन् । निर्वाचन समितिले उमेदवार मनोनयनपछि निर्वाचनमा नलगी एकल रुपमा पदाधिकारी घोषणा गरेको उनीहरुले टिप्पणी गरे ।
अधिवेसनमा अध्यक्षका लागि चार जना आकांक्षी रहेकोमा निर्वाचन समितिले पुनम शर्माको नाम घोषणा गरेपछि अधिवेसनमा खैलाबैला मच्चिएको हो । गलकोट नगर अध्यक्ष पुनले विधि र प्रक्रिया मिचेर निर्वाचन समितिले अध्यक्ष एकतर्फी घोषणा गरेको आरोप लगाए ।
क्षेत्र नं. १ बाट निर्वाचित सांसद सुशिल खड्का, क्षेत्र नं. २ बाट निर्वाचित सांसद सोम शर्मा र प्रदेश समितिका सदस्य चित्रबहादुर थापा रहेको निर्वाचन समितिले गोप्य रुपमा बागलुङ नगरपालिका वडा नं. ३ का पुनम शर्माको नाम घोषणा गरेको हो । अध्यक्ष पदका लागि शर्मासहित निर्वतमान उपाध्यक्ष ढालेन्द्र रायमाझी, खिमानन्द पौडेल र मनोज खड्काले दाबी गरेका थिए । उनीहरुको मनोनयन भैसकेको भएपनि निर्वाचन समितिले शर्माको नाम अध्यक्षमा र अध्यक्षकै दाबेदार रायमाझीलाई उपाध्यक्ष, सचिवमा लालबहादुर क्षत्री, कोषाध्यक्षमा डुक मल्ल र सहसचिवमा पुष्पा आचार्यलाई घोषणा गरिएको हो ।
समितिले अन्य १३ जनालाई सदस्यमा घोषणा गरेको छ । यो घोषणा के विधिमा भएको भन्ने जानकारी नपाएको भन्दै कार्यकर्ताहरुले विरोध गरेका छन् । ‘निर्वाचन समितिले अहिलेसम्म हामीलाई प्रष्ट जानकारी दिन सकेको छैन,’ पुनले भने, ‘मतदान गर्न तयार भएका ३ सय कार्यकर्ताको पनि भावनामाथी कुठाराघात भयो ।’ अन्य दलमा लोकतन्त्रको अभ्यास भएन भनेकाहरुले आफ्नै दलमा यस्तो भएको राम्रो सन्देश नजाने उनले बताए । निर्वतमान अध्यक्ष महेन्द्र खड्काको अन्तिम बैठकले समेत रायमाझी नेतृत्वमा सर्वसम्मत टिम बनाउने प्रस्ताव लगेको थियो । तर उद्घाटन शत्र सकिएपछि एकाएक समितिले अर्कै नाम घोषणा गरेपछि रायमाझीले उक्त घोषणा अमान्य भएको बताएका छन् ।
शर्मा २०७९ को स्थानीय निर्वाचनमा बागलुङ नगरपालिका वडा नं. ३ को अध्यक्ष उम्मेदवार बनेका थिए । एमालेबाट उठ्न खोजेका शर्मालाई टिकट नदिइ कमल खड्कालाई दिएपछि बागी बनेका थिए । एमालेले बागीको सामना गर्दा उक्त अध्यक्ष पद कांग्रेसका शनि केसीले जितेका थिए । त्यसपछि शर्मा स्वतन्त्र रुपमा थिए । गत निर्वाचनमा पनि उनले रास्वपालाई सघाएका थिए । संस्थापक अध्यक्ष रहेका खड्का भने कांग्रेस जिल्ला सदस्य थिए । कांग्रेसबाट नगरप्रमुखको दाबेदार भए पनि टिकट नपाएपछि रास्वपामा लागेका थिए । निर्वाचन समितिका प्रमुख सुशील खड्कालाई सम्पर्क गर्दा फोन उठाएनन् ।





