लमजुङ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गरिएको थियो । सभापतिमा ५ जनाले प्रतिस्पर्धा गरेकोमा कसैले पनि बहुमत नपाएपछि दोस्रो चरणमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । सुरुमा भएको निर्वाचनमा सापकोटाले सर्वाधिक मत प्राप्त गरेका थिए ।
उनले ६९ मत पाएका थिए भने दोस्रो हुने भोलानाथ शर्माले ४९ मत पाए । तेस्रो बनेका हरिबहादुर धितालको ३३, चौथो रहेका विजय रञ्जन पौडेलले १६ र नवराज पहाडीले ७ मत पाए । तर शीर्ष दुई प्रतिस्पर्धीमध्ये भोलानाथ शर्माले पुनः मतदान हुनुअघि चुनावी प्रक्रिया छोडेपछि आइतबार राती सम्पन्न अधिवेशनबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन् । रास्वपाको विधान अनुसार कसैले पनि बहुमत नपाए धेरै मत पाउने २ जनाबिच प्रतिस्पर्धा हुनुपर्ने थियो । तर, दोस्रो धेरै मत पाएका शर्माले पहिलो बढी मत ल्याएका सापकोटालाई नै समर्थन गरेका हुन् ।
अधिवेशनमा कुल २ सय १६ प्रतिनिधिमध्ये १ सय ७६ जनाले मतदान गरेका थिए । शर्माले पार्टीभित्र गुटबन्दी हुन नदिन आफूले त्याग गरेको बताए । उपसभापतिमा सन्तोषी गौली, सचिवमा मिना खड्का, सहसचिवमा गोविन्दबहादुर घले निर्वाचित भए । साथै, सदस्यहरूमा सविता अधिकारी, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ विजयी भए ।





