पोखरा / पृथ्वीचोकस्थित पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच लामो समयदेखि विवादित बसपार्क निर्माणका विषयमा सहमति भएको छ। साथै, बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी समेत गरेका छन्। साथै भविष्यमा निर्माण हुने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गर्ने सहमति पनि भएको छ।
पोखरा महानगरका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सोमबार सहमति भएको हो। रिट निवेदनाथि अदालतले अन्तरिम आदेश दिएको र भोली मंगलबार दुवै पक्षलाई छलफलका लागी बोलाएको थियो ।
सहमतिअनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गरिनेछ। यस्तै, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजैबाट लागु हुने गरी ७ दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगर प्रमुख धनराज आचार्यले बताएका छन्।
उनले लामो समयदेखि रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको मार्ग प्रशस्त भएको जनाए । उनले बसपार्क निर्माणलाई अघि बढाउन सहयोग पु¥याउने सम्पूर्ण जग्गाधनी, स्थानीयवासी, सरोकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्। महानगरपालिकाले यस सहमतिसँगै बहुप्रतिक्षित पोखरा बसपार्क निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरेको छ।





