बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराको सार्वजनिक यातायात सुधारका लागि संवादः इमोबिलिटी’ परियोजनामा ४० मिलियन डलर लगानी गरिँदै

पोखराको सार्वजनिक यातायात सुधारका लागि संवादः इमोबिलिटी’ परियोजनामा ४० मिलियन डलर लगानी गरिँदै


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

पोखरा/ पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउने सम्बन्धमा सरोकारवालाहरू बिच बृहत् सार्वजनिक–निजी संवाद सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजना तथा आर्थिक आवाजको साझेदारीमा ‘स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी’ विषयक बहस आयोजना गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का कार्यकारी निर्देशक गोविन्द भट्टराईबिच पोखराको यातायात सुधारका विविध पक्षमा केन्द्रित रहेर प्यानल छलफल भएको थियो । उक्त छलफलको सहजीकरण आर्थिक आवाजका सम्पादक सुरेन्द्र पौडेलले गरेका थिए ।

छलफलका क्रममा पोखरा महानगरप्रमुख धनराज आचार्यले दिगो सहरी यातायात व्यवस्थापन र विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि एसियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा नेपालले १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण प्राप्त गरेको जानकारी दिए ।

‘कुल प्राप्त रकममध्ये पोखराको सार्वजनिक यातायात सुधारका लागि मात्रै ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँभन्दा बढी) लगानी गरिनेछ,’ प्रमुख आचार्यले भने, ‘पोखरालाई मुलुककै पर्यटन राजधानी घोषणा गरिएसँगै एसियाली विकास बैंकले यस क्षेत्रको यातायात व्यवस्थापनका लागि इमोबिलिटी परियोजनालाई विशेष प्राथमिकतामा राखेको हो ।’

यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई आधुनिक प्रविधिसँग जोड्दै वातावरण संरक्षणमा समेत कोसोढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । परियोजना अन्तर्गत सार्वजनिक यातायातमा विद्युतीय गाडीको प्रयोगलाई उच्च प्राथमिकता दिइने छ । यसैगरी सहरका विभिन्न रणनीतिक स्थानहरूमा सुविधासम्पन्न चार्जिङ स्टेसनहरू स्थापना गरिने, सार्वजनिक यातायात सेवालाई प्रविधिमैत्री र डिजिटल प्रणालीमा रूपान्तरण गरिने, यात्रुहरूको सहजताका लागि आधुनिक र व्यवस्थित बस स्टपहरू निर्माण गरिने छ ।

संवाद कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला र नासाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले पोखराको सार्वजनिक यातायातलाई कतिपय नीतिगत र व्यावहारिक सुधारको आवश्यकता रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->