आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीको प्रमुख सचिवमा भूपाल बराल

गण्डकीको प्रमुख सचिवमा भूपाल बराल


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

पोखरा/ गण्डकी प्रदेशको प्रमुख सचिवमा भुपाल बराल आउने भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा १० सचिवको सरुवा हुँदा बराललाई गण्डकी पठाइएको हो । अर्थ मन्त्रालयको राजस्व सचिव रहेका बराल गत जेठ १५ मा प्रस्तुत संघीय सरकारको बजेट निर्माणमा सक्रिय थिए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशका तत्कालिन प्रमुख सचिव डण्डुराज घिमिरेसहित २३ जना उच्च सरकारी अधिकारी र चिनियाँ निर्माण कम्पनीका पदाधिकारीविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि घिमिरे गत बैशाख २४ देखि निलम्बनमा परेका थिए । घिमिरे नागरिक उड्डयन प्राधिकरणमा सहसचिव भएका बेला पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको थियो । सोही उजुरीपछि छानविन गरी अख्तियारले घिमिरेसहित २३ जना विरुद्ध आरोपपत्र दायर गरेको थियो । डण्डु घिमिरे निलम्बनमा परेकाले जगेडामा राख्दै अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

मन्त्रालय समायोजनअघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालयमा कार्यरत डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ ।

नेपाल ट्रस्टको कार्यालयमा कार्यरत प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई सरुवा गरी नेपाल ट्रस्टको कार्यालयमा पठाइएको छ । जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->