पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ ६ महिनाभित्र १७ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गर्ने सर्तमा धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत कास्कीले भोटेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशअनुसार उनले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको सहकारी ठगी मुद्दामा उल्लेखित बिगो बराबरको रकम ६ महिनाभित्र बुझाउने सहमतिपछि अदालतले रिहाइको आदेश दिएको हो।
सहकारी सञ्चालक समितिसँग भएको मिलापत्रका आधारमा जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले आदेश जारी गरेको अदालत स्रोतले जनाएको छ।
शुक्रबारको सुनुवाइका क्रममा सहकारीका अध्यक्ष किरण श्रेष्ठ र सचिव दुर्गानाथ न्यौपानेले भोटेसँग भएको सहमति अदालतमा पेस गरेका थिए।
उनीहरूले भोटेका आमा आसमाया गुरूङको नाममा रहेको पोखरा-८, लुकुनस्वारास्थित जग्गाको रोक्का फुकुवा गर्न पनि माग गरेका थिए। अदालतले उक्त जग्गा सहकारीको नाममा हस्तान्तरण गर्ने प्रयोजनका लागि रोक्का फुकुवा गर्न आदेश दिएको छ।
अदालतले भोटेले सहमतिअनुसार रकम बुझाए वा नबुझाएको विवरणसहित छ महिनापछि मुद्दा पुनः इजलासमा पेस गर्न पनि आदेश दिएको छ।





