आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा बसपार्कमा सहमति जुट्दै, सुकुमबासी बस्तीलाई तत्काल नछुने

पोखरा बसपार्कमा सहमति जुट्दै, सुकुमबासी बस्तीलाई तत्काल नछुने

पोखरा बसपार्कभित्रका संरचना हटाउन पटक पटक जारी गरेको सूचनाअनुसार मिति सकिएसँगै डोजर लगाउने तयारी गरिरहँदा महानगरपालिका विरुद्ध अदालतमा रिट परेको थियो । सो रिटपश्चात अदालतले डोजर नचलाउन आदेश गरेपनि मुद्धा फिर्ता गर्ने सहमति भएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८३, मंगलबार

पोखरा/पोखरा महानगरपालिकाले अतिक्रमणमा परेको पोखरा बसपार्कको जग्गा खाली गराउन सहमतिको बाटोहरु खुल्दै गएका छन् । पोखरा बसपार्कमा व्यवसाय गर्दै आइरहेकाहरुले सर्वोच्चमा मुद्धा हालेपछि अफ्ठ्यारोमा परेको पोखरा महानगरपालिकाले सहमति जुटाएसंगै त्यहाँ रहेको व्यवसायिक संरचनाहरु हट्ने भएका छन् ।

पोखरा बसपार्कभित्रका संरचना हटाउन पटक पटक जारी गरेको सूचनाअनुसार मिति सकिएसँगै डोजर लगाउने तयारी गरिरहँदा महानगरपालिका विरुद्ध अदालतमा रिट परेको थियो । सो रिटपश्चात अदालतले डोजर नचलाउन आदेश गरेपनि मुद्धा फिर्ता गर्ने सहमति भएको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सात दिनको म्याद दिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा बसपार्कबारे लेख्दै उच्च अदालतमा परेको मुद्धा फिर्ता लिने काम भएसँगै संरचनाहरु भत्काउने सहमति भएको बताए । मेयर आचार्यका अनुसार निवेदकहरुले रिट गरेको मुद्धा फिर्ता लिने र महानगरपालिकाले समेत त्यहाँ रहेका सटर तथा क्बलहरु सात दिनभित्र हटाउने सहमति भएको हो ।

मेयर आचार्यले भनेका छन्, ‘पोखरा बसपार्कको उत्तरी क्षेत्रमा (पेट्रोल पम्प रहेको लाइन) अवस्थित जग्गाधनीहरूले पोखरा महानगरपालिकाविरुद्ध सम्मानित उच्च अदालतमा दायर गर्नुभएको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट मुद्दा फिर्ता लिने, बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने तथा भविष्यमा निर्माण हुने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गर्ने सहमति भएको छ । साथै, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले ७ दिनभित्र पूर्ण रूपमा हटाउने सहमति समेत भएको छ ।’ करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको थियो ।

भूमि अधिकार मञ्च गण्डकीका अध्यक्ष राम लामिछानेले अहिले पोखरा बसपार्कमा पुर्जा भएकाहरुले संरचना छाडेको बताए । पोखरा बसपार्कभित्र पाँच सय ७२ भूमिहिन सुकुम्बासी घर रहेको छ । पोखरा बसपार्कमा शिव टोल, कृष्ण टोल, गणतान्त्रिक टोल, पार्वती टोल र शुभकामना टोल रहेका छन् । पहिला सुकुमबासीका लागि जग्गा अनिमात्रै पोखरा बसपार्क छाड्ने उनको भनाइ छ । पोखरा महानगरपालिकाले विभिन्न स्थानमा जग्गा खोजी गरि प्रतिवेदन पेश गरिसकेको र ठाउँ ठाउँमा जग्गा फेला पारिएको जानकारी आएको उनले बताए ।

यस्तै पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासिहरुको व्यवस्थित बसोबासका लागि जमिन प्लट मिलान तथा अन्य पूर्वाधार अध्ययन समिति गठन गरिएको छ । पोखरा महानगरपालिकाले वडा नं. ९, बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन समितिले सिफारिस गरेका जग्गाहरू मध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको हो । गठित समितिको संयोजकमा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, सदस्यमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी, सन्देश सापकोटा र सदस्य सचिवमा प्रशासनिक अधिकृत टिकाराम बजगाईं छन् ।

उक्त समितिलाई सिफारिस भएका जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने, खुला क्षेत्र, विद्यालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक क्षेत्र सुनिश्चित गर्ने, व्यवस्थापन गर्न सकिने कुल क्षेत्रफल निर्धारण गर्ने तथा कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गरी ७ दिनभित्र राय, सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । समितिको प्रतिवेदन प्राप्त भएपछि तथ्य, अध्ययन तथा कानुनी प्रक्रियाका आधारमा आवश्यक निर्णय अगाडि बढाइने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->