शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रैथाने धान रोप्नेलाई एक मुरीमा १ हजार अनुदान

रैथाने धान रोप्नेलाई एक मुरीमा १ हजार अनुदान

यो व्यवस्था अनुसार गत वर्ष ४९ जना किसानले एक/एक हजार अनुदान पाएका थिए । वडाले निर्णय गरेर परम्परागत जातको धान लगायतका बाली लगाएमा किसानलाई अनुदान स्वरुप पुरस्कृत गरिने व्यवस्था गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८३, बुधबार
Exif_JPEG_420

बागलुङ/परम्परागत धान लगाउँदा किसानलाई अनुदान दिने कार्यक्रम सफल भएपछि वडा अध्यक्षले आगामी वर्षपनि यो शीर्षकमा बजेट विनियोजन गर्न तयारी गरेका छन् ।

बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेलले अघिल्लो वर्षको कामले किसान उत्साही भएपछि यो वर्षका लागि पनि बजेट विनियोजनको तयारी गरेको बताए । उनले यो वर्ष नगरपालिकालाई उक्त शिर्षकमा बजेट विनियोजन गरिदिन आग्रह गरेको बताए । यो कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको उनले जानकारी दिए ।

विकासे र हाइब्रिड जातको खेती लगाउने होड चलेको बेला बागलुङ नगरपालिका वडा नं. १३ ले भने रैथाने धान जोगाउनेलाई प्रतिमुरी एक हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो । यो व्यवस्था अनुसार गत वर्ष ४९ जना किसानले एक/एक हजार अनुदान पाएका थिए । वडाले निर्णय गरेर परम्परागत जातको धान लगायतका बाली लगाएमा किसानलाई अनुदान स्वरुप पुरस्कृत गरिने व्यवस्था गरेको हो ।

अघिल्लो वर्षदेखि नै यो नीति बनाएर किसानलाई अनुदान दिएपछि किसान पनि रैथाने जातको संरक्षणमा अग्रसर भएका छन् । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका ५ थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत बनाएको हो । वडाको आर्थिक विकास तथा कृषि क्षेत्रको बजेटबाटै रैथाने प्रकृतिका धान उत्पादन गर्दा प्रतिमुरी एक÷एक हजार रुपैयाँ अनुदान दिइने भएको हो ।

परम्परागत रुपमा रैथाने जात मानिने जर्नेली, अनाती, झिनुवा, रमनी र आँगा जातको धान लगाउने किसानलाई उक्त अनुदान दिइएको हो । धान थन्क्याउने समयमा किसानको खेतमै पुगेर धान भरेपछि वडा अध्यक्षले नगद दिने गरेका छन् । ‘बाली भित्र्याउने दिन किसानले जानकारी गरेपछि वडा समितिका पदाधिकारी पुगेर हेर्ने र प्रोत्साहन रकम दिने गरिएको छ,’ पौडेलले भने, ‘यो व्यवस्थापछि किसान पनि खुसी भएका छन् ।’ हाइब्रिड जातको तुलनामा रैथाने जातको उत्पादन कम हुन्छ । किसान प्रोत्साहित नभएमा थोरै उत्पादन हुने खेती लगाउन छाडेका छन् ।

वडाले किसानलाई धानको बिउ छर्ने बेलामा जानकारी दिने र किसानले लगाएको रेकर्ड पनि वडाले राख्ने गरेको छ । वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइएको छ । एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए । वडाले हरेक वर्ष ५० हजार रुपैयाँ यो शिर्षकमा विनियोजन गर्ने गरेको छ ।

वडा नं. १३ ठूलो र खेतीपाती हुने वडा हो । धान नफल्ने बस्तीलाई पनि वडाले केही न केही सहयोग गर्दै आएको छ । वडा नं. १३ ले १ सय ४० घरधुरी रहेको मुसुराबारीको दलीत बस्तीमा प्रतिघर न्युनतम ५ वटा सुन्तला र कागतीको बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । अघिल्लो वर्ष ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गतवर्ष देखिनै रसायनिक मल ढुवानीमा प्रतिकेजी २ रुपैयाँ अनुदान दिंदै आएको छ । पशुपंक्षीको औषधि निशुल्क वितरण, ७० वर्ष माथीका जेष्ठ नागरिकलाई नगर अस्पतालमा निशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । त्यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एकएक क्रेट अण्डा दिने व्यवस्था गराएको छ । पाँच वर्षदेखि वडाले पोषणमैत्री कार्यक्रम संचालनमा ल्याएको छ । किशोरकिशोरीका लागि पनि सामाजिक संजालको दुरुपयोग रोक्न सचेतना अभियान संचालन गरिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->