शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरपालिकाभित्र तरकारी बेच्न सहज, अन्यलाई कडाइ

बागलुङ नगरपालिकाभित्र तरकारी बेच्न सहज, अन्यलाई कडाइ

‘हामीले ठेला गाडामा बेच्दै हिड्ने, जथाभावी सडक अबरुद्द पारेर व्यपार गर्ने र धुलोमा चटपट बेच्ने कामलाई पूर्ण रुपमा रोक लगाएका छौँ,’ नगरपालिकाका सदस्य तथा बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले भने, ‘बजारमा ठेलामा राखेर केही पनि सामान बेच्न पाइँदैन ।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८३, बुधबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ की रिमा बुढाथोकीले दैनिक डोकोमा साग, गोलभेडा र हरियो तरकारी ल्याएर बजारमा बेच्छिन् । उनले साग बेचेको पैसाले घरखर्च चलाएकी छिन् ।

१२ रोपनी जमिन भाडामा लिएर ताजा तरकारी र च्याउ खेती गरेकी रिमाले नजिकको बजारमा तरकारी बेचेर छोराछोरी पढाएको बताइन् । बिहानको समयमा साग लगायतको तरकारी बेच्न नगरपालिकाले छुट दिएको छ । डोकोमा बेच्न आउने किसानलाई नगरपालिकाले कर लिंदैन ।

बगलुङ नगरपालिका वडा नंं १ की मनकली बोहोराले मौषमी फलफूल बजारमा ल्याएर बेच्छीन् । फलफूलकालागि दिउसोको समयमा पनि तोकेको स्थानमा बसेर बेच्न पाइने व्यवस्था नगरपालिकलो बनाएको छ । सुन्तला बेचेर पनि उनले घर चलाउन सकेको बताइन् । सागलगायत तत्काल बिग्रने तरकारी बाहेक अन्य तरकारी भने बिहान १० बजेसम्म र बेलुकी ५ बजेपछि डोकोमा राखेर बेच्न पाइन्छ ।

यसरी डोकोमै तरकारी र फलफूल ल्याउने किसानलाई बेच्नकालागि प्रोत्साहन दिएको नगरपालिकाका सदस्य तथा बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताए । ‘हामीले ठेला गाडामा बेच्दै हिड्ने, जथाभावी सडक अबरुद्द पारेर व्यपार गर्ने र धुलोमा चटपट बेच्ने कामलाई पूर्ण रुपमा रोक लगाएका छौँ,’ घिमिरेले भने, ‘बजारमा ठेलामा राखेर केही पनि सामान बेच्न पाइँदैन ।’ बजार स्वच्छ र ट्राफिक अबरोध विहिन बनाउन यो काम गरिएको उनले बताए ।

एक वर्षअघि देखिनै चटपट र ठेलागाडीमा राखिने सबै सामान हटाइएपछि उनीहरुले सटर भाडामा लिएर व्यवसाय गरेका छन् । त्यसबाट कर पनि संकलन भैरहेको छ । नगरपालिकाले सुन्तला उत्पादन हुने समयमा तोकेको स्थानमा दिउँसो पनि डोकोमा बेच्न छुट दिएको छ । यसरी बेच्ने किसान लाई कर नलिने निर्णय भएको प्रशासकीय अधिकृत भीमसेन पन्तले जानकारी दिए ।

सुन्तलाको समयमा ट्राफिक चोक, समीक्षालय, धौलागिरि बहुमुखी क्याम्पस आसपासको क्षेत्र लगायतमा डोकोमा बेच्न छुट दिएको थियो । तिनै किसानले धेरै उत्पादन गरेर बेच्न चाहेमा पसलमा राख्नुपर्ने छ । बानपा ३ की लक्ष्मी थापाले पसल राखेर तरकारी बेच्न थालेकी छिन् । नगरपालिकामा दर्ता समेत गरेर राजश्व तिर्न थालेको उनले बताइन् ।

राजश्व शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीका अनुसार खुला रुपमा ठेलागाडिमा सामान बेच्ने ५० बढीले दर्ता गरेर पसल राख्न थालेका छन् । उनीहरुले नियमित कर तिर्न थालेको रेग्मीले बताइन् । नगर प्रहरी र राजश्व शाखाले नियमित अनुगमन गर्दा जथाभावी व्यवसाय गर्नेहरु हटेका छन् ।

बिहान साग बेचेर खर्च चलाउनेलाई नगरपालिकाले प्रोत्साहन गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । ‘साग, सुन्तला, काफल वा मौषमी कृषि फसल बेच्नेहरुको रोजीरोटी चल्ने गरी छुट दिएपछि अन्यलाई करको दायरामा ल्याएका छौँ,’ श्रेष्ठले भने, ‘उद्योग बाणिज्य संघको सहकार्यमा कर योग्य सामाग्रीको व्यवसायलाई व्यवस्थित बनाएका छौँ ।’ नियमित बजार अनुगमन गरी करयोग्य सामान बिक्रीको लागत राख्ने, बजारमा डुलाएर बेच्न नपाइने, अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ ।

राजश्व शाखाका अनुसार चालु वर्ष घरबहाल कर, व्यवसाय कर लगायतबाट ५ करोड ७० लाख राजश्व संकलन भैसकेको छ । बागलुङ बजारमा यहाँको कुँडुले, तित्याङ, पावरहाउस र मुलपानी लगायतका स्थानबाट तरकारी आउने गरेको छ । सबैभन्दा टाढाको रायडाँडाबाट पनि यहाँ सागलगायतका तरकारी आउने गर्छ ।

त्यस बाहेक यहाँका किसानले सहकारी र व्यक्तिगत रुपमा पनि दूध समेत बेच्छन् । बिहान ९ बजेभित्र ल्याएको दूध किसानले डोको वा झोलामा राखेर पनि बेच्न पाएका छन् । सदरमुकाम आसपासका गाउँसहित छिमेकी पर्वतको जलजला गाउँपालिकाका लस्ती, धाईरिङ लगायतका गाउँबाट दुध पनि आउने गरेको छ । बागलुङ दुग्ध उत्पादन सहकारी संघका अनुसार आसपासका १५ वटा सहकारी संस्थाले उत्पादन गरेका दूध सदरमुकाम स्थित एउटै काउन्टरबाट पास्चराइज गरेर बेच्ने गरिएको छ भने केही किसानले साइकल र स्कुटरमा डुलाएर पनि बेच्छन् । उनीहरुलाई नगरपालिकाले कर राजश्व लिने गरेको छैन ।

यो पद्दतीले वास्तविक किसानलाई राहत मिलेको बागलुङ नगरपालिका ९ का कुमारप्रसाद उपाध्यायले बताए । ‘वास्तविक किसानले उत्पादन गरेको फसल समयमा बेच्न सकेमा कृषि पेशाबाट आत्मनिर्भर बन्न सकिन्छ,’ उपाध्यायले भने, ‘किसानलाई राज्यको अनुदानभन्दा उत्पादनको बजारीकरण चाहिएको हो ।’ बिहानमा अधिकांस किसानले डोकोमा तरकारी बेचेर घरपरिवार चलाएको उनले बताए ।

पछिल्लो समय बागलुङलाई ताजा तरकारीमा आत्मनिर्भर बनाउन सकिने गरी लगानी बढाउने, बजारीकरणमा नगरपालिकाले साथ दिने र उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्ने काम सुरु भएको छ । दूधजन्य वस्तुको उत्पादनमा भने भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले अनुदानको व्यवस्था गर्दै आएको छ । उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, पशुसेवा विज्ञ केन्द्र र नगरपालिकाले कृषि क्षेत्रको उत्पादन बढाउने र बजारीकरणका लागि भूमिका खेल्ने काम गरिरहेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->