बागलुङ/आर्थिक बर्षको अन्तिम महिना लाग्दा बागलुङका बिकासे अड्डाले झिनो रकम मात्रै खर्चेका छन् । यो अंकले विकास पनि धिमा गतिमा मात्रै चलेको देखाउँछ ।
समयमा बिकास खर्च नभएपछि विकासका योजनाहरु प्रभावित भएका छन् ।सडक, खानेपानी, सिंचाई र अन्य पुर्वाधारका योजना भुक्तानी अभावमा अलपत्र समेत छन् । संघिय र प्रदेश सरकारबाट भुक्तानी हुनुपर्ने रकम नभएपछि कतिपय ठेकेदारले काम छाडेका छन् ।
संघिय तर्फको कार्यालयहरुले कुल बिकास बजेट १ अर्ब ५४ करो ९ लाखमा जेठ अन्तिम साता सम्म ६४ करोड ४९ लाख खर्च गरेका छन् । यो ४१ दशमलब ८५ प्रतिशत हो । प्रदेश तर्फको १ अर्ब ५५ करोड ४६ लाख बजेटमा ६४ करोड ४७ लाखमात्रै खर्च भएको छ । यो पनि ४१ दशमलब ४७ प्रतिशत हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख किसोर कुमार श्रेष्ठले बिकासे कार्यालयको काम गर्ने शैली र प्रकृया नै ढीला भएको टिप्पणी गरे । ‘समयमा ठेक्का लगाउने, काम थाल्ने नगर्दा यो समस्या आएको हो’ उनले भने, ‘बिकास खर्च नभएपछि आगामी बर्षकालागि संघिय र प्रदेश बजेटको सिलिङ समेत घट्छ ।’ कतिपय योजनामा भने काम भएर पनि भुक्तानी नभएकोले थोरै खर्च देखिएको उनले बताए ।
जिल्ला स्थित पुर्वाधार बिकास कार्यालयको चालु बर्षको ८४ करोड ९५ लाख बजेटमा ३० करोड ९६ लाख मात्रै खर्च भएको छ । यो ३६ प्रतिशत हो । सडक डिभिजन कार्यालयको ७२ करोड ५६ लाख बजेटमा ३७ करोड ८६ लाख खर्च भएको छ । यो ५१ प्रतिशत हो ।
सिंचाइ बिकास डिभिजन कार्यालयको १६ करोड ६८ लाख बजेटमा जेठ मसान्त सम्म ३ करोड ३३ लाख मात्रै खर्च भएको छ । यो २० प्रतिशत मात्रै हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ३३ करोड ९४ लाख बजेटमा २५ करोड ७८ लाख खर्च भएको छ । नया“ सहरको ४ करोड ४५ लाखमा १ लाख ६६ हजार मात्रै खर्च छ । यो एक प्रतिशत पनि होइन ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका ईन्जिनियर गोपीचन्द्र आचार्यका अनुसार बुर्तिवाङ स्थित नयाँ सहर आयोजनाको लागि चालु बर्ष बजेट खर्च नै नभएको बताए । ‘केही कामकालागि सूचना प्रकाशित मात्रै भयो, जेनजी आन्दोलन पछि बजेट समेत रोक्का थियो’ आचार्यले भने, ‘बैसाखमा आएर फुकुवा भयो, अब काम गर्ने अबस्था नै छैन ।’ ठेकेदारहरुले बिटुमिन लगायतको मूल्य वृद्दि देखाएर काम गर्नै नमानेको उनले बताए ।
प्रायजसो असोज कात्तिक सम्म रकम फुकुवा नभएको भन्दै ठेक्कापट्टा समेत नथाल्ने, दशै तिहार पछि मात्रै काम थाल्ने चलन छ । यो बर्ष भने माघ फागुनमा पनि निर्वाचन आचारसंहिता लाग्दा काम ढीला भएको कार्यालय प्रमुखहरु बताउँछन् ।
‘हामीले चाहेर मात्र भएन, निर्वाचनले पनि यो बर्ष असर परेको हो’ सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद शर्माले भने, ‘बर्षको शुरुवातमा जेनजी आन्दोलनपछि बजेट आउन नआउने पनि यकिन थिएन ।’ परेको बजेट पनि कतिपय शिर्षकको फिर्ता भएकोले काममा अन्यौल भएको उनले बताए ।
ठूला आयोजनातर्फ भने बजेट भुक्तानीका समस्याले ठेकेदारलेपनि काम नगरेको प्राविधिक बताउँछन् । जेनजी आन्दोलनपछि लामो समय कामबारे अन्यौल भएको, निर्वाचनमा आचारसंहिताले रोकेका र पेट्रोलियम पदार्थको मूल्य वृद्दिले काममा असर परेको उनले बताए ।





