पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा भएका प्रमुख अपराध अनुसन्धान तथा कारबाहीको प्रगति विवरण सार्वजनिक गरेको छ. । कार्यालयका सूचना अधिकारीसँगको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले जिल्लाको शान्ति सुरक्षा र सुशासन सम्बन्धी प्रगति विवरण प्रस्तुत गरेको हो ।
कास्की प्रहरीका अनुसार जेठ महिनामा मात्रै विभिन्न विधाका २४ मुद्धामा २०६ जनाबिरुद्ध मुद्धा दर्ता भएका छन् । जसमा सबैभन्दा बढी बैंकिङ कसुरका ६६ वटा छन् । यस्तै, अभद्र व्यवहारका ४०, ठगी तथा आपराधिक लाभका २०, लागू औषधका १४, साधारण चोरीका ९, जबरजस्ती करणीका ६ र झुण्डिएर आत्महत्या गरेका १२ वटा मुद्दा दर्ता भएका छन् ।
जेठ महिनामा लागू औषध सम्बन्धी १४ वटा मुद्दा दर्ता भई १८ पुरुष र २ महिला गरी २० जना पक्राउ परेका छन् । यस अवधिमा ठूलो परिमाणमा लागू औषध बरामद गरिएको छ । जसमा ८ केजी ४५० ग्राम गाँजा, ३९,८९९ ट्याब्लेट ट्रामाडोल÷टापेन्टाडोल, १,००० थान एलएसडी स्टिकर र ५ ग्राम ७५ मिलिग्राम खैरो हेरोइन रहेका छन् । मुख्य घटना अन्तर्गत पोखरा–२९ तालचोकबाट २२ वर्षीया रुबिना खातुनलाई ३१.२ ग्राम खैरो हेरोइन र नगद ११ लाख ४८ हजार रुपैयाँसहित पक्राउ गरिएको छ. । यस्तै, पोखरा–७ सहिदचोकबाट १,००० थान प्रतिबन्धित एलएसडी स्टिकर र नगद ७ लाख ४० हजार रुपैयाँसहित २८ वर्षीय भारतीय नागरिक आयुष अजित पक्राउ परेका छन् । पोखरा–५ धारापानी मार्गबाट ३८,३४० चक्की टापेन्टाडोल ट्याब्लेट र नगद १ लाख ८९ हजार ५०० रुपैयाँसहित मनिष शाही ठकुरी पक्राउ परेका छन् ।
६५ जना फरार प्रतिवादी पक्राउ, ९० लाखभन्दा बढी जरिवाना असुल
प्रहरीले जेठ महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३४ पुरुष र ३१ महिला गरी ६५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कुल १४ वर्ष ४ महिना २९ दिन कैद सजाय फछ्र्यौट हुनुका साथै ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल गरिएको छ । पक्राउ पर्नेमा चेक अनादरका २३ जना र चोरी मुद्दाका १८ जना रहेका छन् ।
५ विदेशी नागरिक पक्राउ
पोखराको लेकसाइडमा नेपाली नागरिकको पर्स तथा राष्ट्रिय परिचयपत्र चोरी गरी भाग्ने युगान्डाका २ नागरिक र मादक पदार्थ सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने अन्य ३ जना गरी कुल ५ जना युगान्डान नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी पोखरा–१८ खपौदीस्थित एक घरको कोठा फोरेर १८ लाख १७ हजारभन्दा बढी मूल्यको सुनका गहना र धनमाल चोरी गर्ने साजन सुनार र उक्त चोरीको सुन खरिद गर्ने सुनचाँदी पसल सञ्चालक नारायण लाल वी.क. लाई प्रहरीले पक्राउ गरेको छ । न्यूरोड प्रगतिटोलमा भएको अर्को सुन चोरी घटनामा संलग्न ५ जनालाई पनि पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ.।
पोखरा महानगरपालिकाका न्यूरोड, सभागृहचोक, महेन्द्रपुल र चिप्लेढुङ्गा क्षेत्रका फुटपाथमा जथाभावी पार्किङ गरी सर्वसाधारणलाई बाधा पु¥याउने १,०६० वटा सवारी साधनहरूलाई कास्की प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिई कारबाही गरेको छ । यसका साथै जिल्लाका विभिन्न स्थानबाट ढुङ्गा, गिट्टी, बालुवा लगायत प्राकृतिक स्रोतको अवैध उत्खनन तथा चोरी निकासी गर्ने १४ वटा सवारी साधनलाई नियन्त्रणमा लिई स्थानीय तहमार्फत २ लाख २९ हजार रुपैयाँ जरिवाना गराइएको छ ।





