पोखरा / गण्डकी प्रदेश सभा सचिवालयले आफ्ना तीन जना कर्मचारीहरूलाई उत्कृष्ट तथा प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको छ । सचिवालयमा कार्यरत कर्मचारीहरूलाई इमानदारिता, अनुशासन, नियमसंगत, लगनशीलता र कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै आज एक समारोहका बिच पुरस्कृत गरिएको हो ।
उत्कृष्ट कर्मचारी पुरस्कार स्वरूप कम्प्युटर अधिकृत चन्द्रकला बस्नेतलाई नगद ३० हजार रुपैयाँ प्रदान गरियो । यसैगरी, कर्मचारी प्रोत्साहन पुरस्कार स्वरूप कार्यालय सहयोगी सूर्य बहादुर केसी र हलुका सवारी चालक लेख बहादुर गुरुङलाई जनही १०÷१० हजार रुपैयाँ नगद प्रदान गरियो । पुरस्कृत कर्मचारीहरूलाई सभामुख, उपसभामुख र सचिवद्वारा नगदसहित टीका, माला, खादा र कदर पत्रले सम्मान गरिएको थियो ।
गण्डकी प्रदेश सभाका सचिव गोविन्द पौडेलको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धिताल र विशेष अतिथिका रूपमा उपसभामुख बिना कुमारी थापा रहेका थिए । सचिवालयका उपसचिव (कानुन) आमोद दाहालले सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापन अधिकृत छैटौँ झनकराज अधिकारी र माइक सञ्चालन तथा तस्बिर व्यवस्थापनमा गीता दवाडीले सहयोग गरेको थिए ।





