आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इप्पानमा उपमहासचिवसहित पाँच सचिव निर्विरोध, अन्य पदमा मतदान भोली

इप्पानमा उपमहासचिवसहित पाँच सचिव निर्विरोध, अन्य पदमा मतदान भोली

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण यस पदको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८३, बिहिबार

काठमाडौं / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा उपमहासचिव एकजना र सचिव पाँचजना निर्विरोध निर्वाचित भएका छन् । अन्य पदका लागि भोलि जेठ २९ गते मतदान हुने भएको छ ।

इप्पान निर्वाचन समितिले सार्वजनिक गरेको उमेदवारहरूको अन्तिम नामावलीअनुसार उपमहासचिव पदमा हिमशिला पावर कम्पनी लिमिटेडकी कविता पौडेल एक्लो उमेदवार रहेकाले निर्विरोध भएकी छन् ।

त्यस्तै, पाँच सचिव पदका लागि पाँचजनाकै उमेदवारी परेकाले अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुबेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध भएका छन् ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा प्रतिस्पर्धामा छन् । पाँच उपाध्यक्ष पदका लागि उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुशन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा छन् ।

महासचिव पदमा टेकनाथ आचार्य (टि.एन. आचार्य) र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन चक्रवर्ती प्रसाद पौडेल  उमेदवार रहेका छन् ।

सदस्यतर्फ खुला सात पदका लागि १४ जनाको उमेदवारी परेको छ भने महिला सदस्य तीन पदका लागि चारजना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

खुला सदस्य पदका लागि अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, डा. भुषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल प्रतिस्पर्धामा छन्।

महिला सदस्यतर्फ तीन पदका लागि चार जनाको उम्मेदवारी परेको छ। ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र सिर्जना खड्का निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। चार उम्मेदवारमध्ये तीन जना निर्वाचित हुनेछन्।

यससँगै इप्पानको आगामी कार्यसमितिका लागि उपमहासचिव एक र सचिव पाँच गरी ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा खुला र महिला सदस्य पदका लागि भने भोलि जेठ २९ गते मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

इप्पान नेपालको निजी ऊर्जा क्षेत्रको प्रतिनिधिमूलक संस्था हो। जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रका उत्पादकहरूको साझा संगठनका रूपमा रहेको इप्पानले ऊर्जा नीति निर्माण, लगानी प्रवद्र्धन तथा सरोकारवालाबीच समन्वयमा भूमिका खेल्दै आएको छ।

संस्थाको विधानअनुसार कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य तथा तीन महिला सदस्य रहने व्यवस्था छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण यस पदको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।

मतदानबाट इप्पानको आगामी नेतृत्व चयन हुने भएकाले निजी ऊर्जा क्षेत्रका व्यवसायी तथा लगानीकर्ताहरूको ध्यान निर्वाचनतर्फ केन्द्रित भएको छ। निर्वाचन परिणामले आगामी कार्यकालमा संस्थाको नेतृत्व, नीति तथा ऊर्जा क्षेत्रको निजी लगानी प्रवद्र्धनको दिशामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->