पोखरा / सवारी दुर्घटनामा परी पूर्वबैंकर रेशमबहादुर थापाको निधन भएको छ । पोखरा महानगरपालिका-३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको कार बिहीबार साँझ दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा आउने क्रममा उनले चलाएको कार साँझ ६ बजेर २५ मिनेटमा पचैयामा दुर्घटनामा भएको हो ।
थापाले चलाएको बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । थापालाई तत्काल उद्दार गरी प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहरियामा पुर्याएपनि त्यहाँ चिकित्सकले उनी मृत रहेको घोषणा गरेका थिए ।
थापा गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनका २ भाइ छोरामध्ये जेठा छोराको पनि यसअघि काठमाडौंमा दुर्घटनामै परी ज्यान गएको थियो ।





