पोखरा/गएको वैशाख ३० गते एक भारतीय नागरिक पोखरा ७,पार्दीमा रहेको हुलाक कार्यालय पुगे । आफ्नो नाममा नेदरल्याण्डबाट चिठी आएको भन्दै कर्मचारीसँग सोधपुछ गरे । ती भारतीय नागरिकको व्यवहार शंकास्पद थियो । उनले भनेको आरएन ४३८०८८९३५ एनएल’ नम्बरको चिठी लेकसाइडको ५ नम्बर सडकमा रहेको होटल गोक्योको नाममा आएको थियो । कर्मचारीले होटलमा सम्पर्क गरे । होटलले त्यस्तो चिठी आफ्नो नभएको बतायो । कर्मचारीहरुले स्थानीय व्यक्तिलाई रोहवरमा राखेर सो चिठी खोले । चिठीभित्र स्टिकरको रुपमा रहेको १ सय थान एलएसडी भेटियो । प्रहरीले भारतको केरल घर भइ लेकसाइडको होली बेसिल गेष्ट हाउसमा बस्ने २८ वर्षीय आयुष अजितलाई पक्राउ ग¥यो ।
लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) रासायनिक प्रक्रियाबाट बनाइन्छ र प्रयोगकर्ताले यसलाई निधारमा टाँसेर वा जिब्रोमा राख्ने गर्छन् । एलएसडीले मान्छेलाई भ्रममा पार्छ । यसको कुनै गन्ध नहुने र ४८ घण्टासम्म असर गर्ने जानकारहरु बताउँछन् । पछिल्लो समय नेपालमा आयोजना हुने ट्रान्स पार्टीहरुमा यसको प्रयोग हुन थालेको प्रहरीको भनाइ छ । यसअघि पोखरामै आयोजित ट्रान्स पार्टीमा पनि प्रहरीले एलएसडी बरामद गरेको थियो । यो महँगो लागुऔषध हो ।
युगान्डाबाट आएका ५ टोलीले गएको वैशाख २९ गते लेकसाइडमा हिँड्दै गरेका एक नागरिकसँग भलाकुसारी थाले । कुरामा अल्झाउँदै गर्दा ४७ वर्षीय सामिम बासाबे र ५० वर्षीय टोना मारी अहिम्बिसिम्बाले ती व्यक्तिको साथमा रहेको पैसा राख्ने ब्याग चोरे । ब्यागमा राष्ट्रिय परिचयपत्रसहित ७ हजार नगद थियो । ती व्यक्तिको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । पक्राउ परेका २ जनाले मादक पदार्थ सेवन गरी होहल्ला गरेको तथा प्रहरीलाई हातपात गरेको प्रहरीको भनाइ छ ।
लागुऔषध कारोबारमा महिला
कास्की प्रहरीले ठूलोमात्रमा लागुऔषध बरामद गर्दा यस्तो कारोबारमा महिलाहरु पनि संलग्न रहेको पाइएको छ । कास्की प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत् दिएको जानकारी अनुसार रौतहट स्थायी ठेगाना भइ हाल पोखराको तालचोक बस्ने २२ वर्षीया रुविना खातुन तीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय तालचो र लागुऔषध ब्यूरोले यही वैशाख २९ गते उनलाई पक्राउ गर्दा उनको साथबाट ब्राउन सुगरसहित ठूलोमात्रामा नगद फेला परेको हो । प्रहरीका अनुसार घरको बरण्डामा कचौराले छोपेर राखेको ब्राउन सुगर बरामद हुँदा उनीसँग नगद ११ लाख ४८ हजार पनि फेला परेको हो । प्रहरीले पोखरा ५ पस्र्याङ बस्ने मनिष ठकुरीको साथबाट ३८ हजार ३ सय ४० चक्की टेपेन्टोल चक्की बरामद गरेको पनि जानकारी गराएको छ ।

कास्की प्रहरीका अनुसार जेठ महिनामामात्रै १४ वटा लागुऔषधका मुद्दा दर्ता गरिएको छ । २ सय ६ वटा मुद्दा अगाडि बढाउँदा वैंकिङ कसुरका ६६, अभद्र व्यवहारका ४०, ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभका २० वटा मुद्दा रहेको सूचना अधिकारी विरेन्द्र पासवानले जानकारी दिए । प्रहरीले जेठमामात्रै ६५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।





