पोखरा/ जिल्ला समन्वय समिति कास्कीको नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल ,देवका पहारी, नन्दकला नेपालीले संयुक्त उदघाटन उद्घाटन गरेका थिए ।
सो क्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समिति बर्तमान कानुनि ब्यबस्था अनुसार ,प्राप्त अधिकारको उच्चतम सदुपयोग मार्फत प्रभाबकारी कार्य सम्पादनमा तल्लिन रहेको भन्दै यसको थप मजबुतिकरणका सन्दर्भमा कानुन निर्माण र अन्य ब्यबस्थापनका बिषयमा प्रयत्नशील रहने बताए । प्रदेश सभा सदस्य देवका पहारीले सदन मार्फत जिससहरूको भूमिकालाइ थप शसक्त बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि पहलकदम लिने उल्लेख गरिन् ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तीनै तहको सरकारको प्रतिनिधित्व गरी विकास समन्वय, सहजीकरण ,अनुगमन जस्ता कार्यभार सुम्पिएको राजनीतिक इकाइको रुपमा रहेको जनप्रतिनिधिमुलक संस्था जिल्ला समन्वय समिति माथि अनेक वाहानामा विभिन्न कोणवाट प्रश्न उठाउने काम भएको भन्दै प्रत्येक जिल्ला वासीको भौगोलिक पहिचानसंग जोडिएको जिल्लाको चिनारी वा अस्तित्वलाइ कमजोर वनाउने र जन प्रतिनिधीहरुलाइ निरुत्साहित गर्ने कार्य प्रति जिल्ला सभाले खेद व्यक्त गरेको बताए ।
प्रमुख पौडेललेका अनुसार संविधान संसोधनका समयमा जिससको भूमिकालाइ अझै थप प्रभावकारी वनाउन, नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदन पुनरावलोकन गर्दा जिल्ला समन्वय समिति महासंघको प्रतिनिधित्वको व्यवस्था अनिवार्य वनाउन, अधिकार, कर्तव्य र कार्यलाइ अझ स्पष्ट पार्न, समन्वयकारी भूमिकालाइ सुदृढ गर्न, अनुगमन तथा मूल्यांकन कार्यलाइ व्यवस्थित वनाउन, विवाद समाधान संयन्त्रका रुपममा विकास गर्न जिल्ला सभाले माग गरेको छ ।
त्यसैगरी कानूनी आधार सहित भूमिका दिइ योजना तथा विकास समन्वय केन्द्र वनाउन, जिल्ला तथ्यांक तथा सूचना केन्द्र स्थापना गर्न ,नियमित क्षमता अभिवृद्धि कार्यक्रम, भ्रष्टाचार रहित समाज सिर्जाना गर्न, सुशासन र जवाफदेहिताको प्रवर्द्धन गर्न, ठूला योजनामा सार्वजनिक सुनाइ साथै सामाजिक परीक्षणको कार्य गरी सुशासनमा सहयोग पुर्याउन संघीय संसदका सदस्यहरुलाइ जिल्लामा रहेका विकास निर्माण तथा समस्याका वारेमा छलफल र सूचना प्रवाहका लागि जिल्ला समन्वय समितिमा मुख्य सम्पर्क कार्यालय स्थापना गर्न पर्ने जिल्ला सभाले औल्याएको छ । संघ प्रदेश र स्थानीय तह वीचको प्रभावकारी पुल, विकास समन्वयकर्ता र अनुगमनकारी संस्थाकारुपमा थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न जिल्ला समन्वय समिति कास्कीको नवौं जिल्ला सभाले जोडदार माग गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य गणेशमान गुरुङ ,नन्दकला नेपाली ,पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, तत्कालिन जिल्ला बिकास समिति कास्कीका सभापति पुण्य प्रसाद पौडेल, जिसस कास्कीका पूर्ब प्रमुख बैनबहादुर अधिकारी क्षेत्री ,कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, पोखरा महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्याल, एमाले कास्कीका उपसचिब सन्तु सुबेदी, नेपाली कम्युनिस्ट पार्टीका खड्ग हमाल, रा प्र पा का नारायण गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमाराज बास्तोला, नेपाल रेडक्रस कास्कीका अध्यक्ष उर्मिला खड्का, जिसस तनहुँका उपप्रमुख बासुदेब थापा, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल सहितले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सभाले आगामी बर्ष २०८३(८४ को बार्षिक नीति तथा कार्यक्रम समेत पारित गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उप(प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।





