पोखरा / गण्डकी प्रदेश प्रेस रजिष्टारको कार्यालयले सञ्चार क्षेत्रका प्राविधिकका लागि क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । पोखरामा बिहिबार प्राविधिक क्षेत्रमा हुने विभिन्न समस्या र एआई प्रयोग सम्बन्धि ज्ञान प्रदान गरेको हो । उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पत्रकारका लागि मात्रै नभई मिडिया क्षेत्रमा काम गर्ने प्राविधिकको समेत क्षमता विकास आवश्यकता रहेको बताए ।
पत्रकार क्षेत्रको अधिकारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा प्रदेश सरकार गम्भिर रहेको र राज्यको सबभन्दा महत्वपूर्ण तागतको रुपमा रहेको उनले बताए । पत्रकार जगतलाई व्यवस्थित गर्ने बारेमा सबै आ–आफ्नो ठाउँबाट लाग्न उनको आग्रह छ ।
गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमाला भण्डारीले यस अघिका हरेक कार्यक्रम पत्रकारका लागि मात्रै आयोजना हुँदै आइरहेपनि पहिलो पटक सञ्चार क्षेत्रको नेपथ्यमा बसेर काम गर्ने महत्वपूर्ण व्यक्तिका लागि कार्यक्रमको आयोजना गरिएको सुनाइन् ।
‘सधैँ हामी पत्रकारका लागि मात्रै धेरै तालिमहरू, क्षमता विकासका कामहरूमा अलि बढी केन्द्रित भयौँ र सञ्चार माध्यमको सफलता पर्दामा देखिने अनुहार वा पत्रिकामा छापिने नाममा मात्रै सीमित हुँदैन’ उनले भनिन्, ‘एउटा अखबारको लेआउट, रेडियोको स्पष्ट आवाज र टेलिभिजनको गुणस्तरीय दृश्यका पछाडि चाहिँ जसको पसिना र सिप लुकेको हुन्छ उहाँहरुको बारेमा पनि सोच्नुपर्छ भनेर यो आयोजना गरेका हौं ।’
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता रहेको थियो । सञ्चार माध्यममा प्राविधिकको रुपमा काम गरिरहेका व्यक्तिहरुका लागि आयोजना गरिएको कार्यक्रममा स्रोत विज्ञ बाबुराम अर्याल र सुवाष हुमागाइले सहजीकरण गरेका थिए ।





