बागलुङ/सगरमाथा चढेर फर्केका अधिवक्ता सुदिज्ञ पन्तलाई उच्च बार एसोसिएसन बागलुङले सम्मान गरेको छ । कानून व्यवसायीको रुपमा चिनिएका काठमाण्डौंका सदिज्ञ पन्तले तीन साताअघि सगरमाथा आरोहण गरेका थिए ।
जेठ ६ गते उनले सगरमाथाको चुचुरोमा सफलतापुर्वक चढेपछि अहिले मुस्ताङ भ्रमणमा निस्केका छन् । सगरमाथा चढ्दा साथ दिएका साइत शर्मा र उनकी पत्नि सबिता पोखरेललाई पनि बारले सम्मान गरेको हो । पन्त पाटन उच्च बार एसोसिएसनका सदस्य हुन् ।
आठ वर्षदेखि कानून क्षेत्रमा सक्रिय भएपनि उनले सानैदेखि सगरमाथा चढ्ने अठोट गरेका थिए । पढ्ने क्रममा उनी ट्रेकिङ गर्न रुचाउँथे । सोलुखुम्बुको मेरा हिमाल चढ्ने मौका पाएपछि भने उनलाई सगरमाथा चढ्ने सोख बढ्यो । दुइ वर्षअघि उनले मेरा हिमाल र सोलुकै लोउचे पिक र मनाङको चुलु पश्चिम हिमाल चढेपछि उनले सगरमाथाको तयारी गरेका थिए ।
जेठ ६ गते पहिलो प्रयासमै उनले सगरमाथाको चुचरोमा टेक्न सफल भएका हुन् । पहिलो प्रयासमै ३३ वर्षे पन्तले हिमाल चढ्ने धोको पुरा गरेर फर्के लगत्तै नेपाल बार काउन्सिलले उनको सम्मान गरेको थियो । मुस्ताङ भ्रमणमा निस्केका पन्तलाई बागलुङ बारले पनि सम्मान गरेको हो ।
‘पेशागत विषय मात्र नभइ साहस र जोश बोकेका युवा भएकोले सम्मान गरिएको हो’ उच्च बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीषले भनिन्, ‘बौद्विक मानिसहरु पनि साहसको काम गर्न सक्छन् भन्ने उदाहरण उनले सगरमाथा चढेर देखाएकोमा हामीले पनि गौरव गरेका छौं ।’
बारको सम्मानले पेशा र ट्रेकिङमा थप हौसला मिलेको उनले बताए । पन्तका बाबु सुसिल कुमार पन्त पनि कानून व्यवसायी हुन् । उनी पुर्व महान्यायाधिवक्ता समेत थिए । हजुरबुबा सुधानाथ पन्त पनि वकिल भएकोले व्यवस्थापन संकायको अध्ययन पछि पनि उनले कानून क्षेत्रमै काम थालेको बताए ।
‘पेशागत रुपमा जे–जस्तो भएपनि कानून व्यवसायीको रुपमा सगरमाथा चढ्ने मौका मिल्यो’ उनले भने, ‘यो अभियानमा परिवारको साथले सफलता मिलेको छ ।’ सगरमाथा चढ्ने क्रममा उनले ४० लाख खर्च लागेको बताए । त्यसमध्ये २० लाख परिवारको सहयोग र २० लाख विभिन्न संस्थाबाट प्राप्त भएको उनले बताए ।





