पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले टिकट विक्रि गर्नेलाई कारवाहि हुने बताएका छन् । रास्वपाभित्र टिकट विक्रि गर्ने कुरा आएको र त्यसमाथि पार्टीले छानविन गरि अघि बढ्ने समेत उनले बताएका छन् ।
रास्वपा गण्डकीको प्रथम अधिवेशनको उद्घाटन सत्रको सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले टिकट विक्रि कसले गरेको हो र कसले किनेको हो भन्ने विषयमा पार्टीमा छानविन हुने र त्यतिबेला नै देखिने भन्दै चेतावनी समेत दिएका छन् । ‘मैले सुने कुनै कुनै ठाउँमा त टिकट विक्रि भइसक्यो । आगामी निर्वाचनका लागि टिकट विक्रि भएको भन्ने कुरा छ उजुरी त पक्का पर्छ । अब उम्मेदवार बन्नका लागि हाम्रो क्यान्डिडेट क्लबमा जानुपर्छ त्यसपछि विक्रि भएको टिकट के गर्ने होला’ उनले भने, ‘पैसा फिर्ता त माग्न मिल्दैन होला । उजुरी परिसकेपछि टिकट विक्रि गर्ने कति जनाको पार्टीमा भएको पद छानविनमा आउने हो त्यतिखेर देखिन्छ ।’
सोही क्रममा महामन्त्री बुर्लाकोटीले पार्टीमा गुट बनाउन नपाउने सुनाए । कसैले गुट बनाएमा स्पष्टीकरण सोधिने सुनाए । यस्तै अधिवेशन र त्यस पछाडि हुने निर्वाचनहरूमा पार्टीले योग्य, इमानदार, सक्षम र पार्टीमा योगदान दिएका व्यक्तिहरूको मुल्यांक समेत गर्ने उनको भनाइ छ ।
उम्मेदवारका लागि पार्टीले बनाएको विधि ‘क्यान्डिडेट क्लब’ मा पार्टीका सदस्यहरूलाई विभिन्न प्रशिक्षण दिनेदेखी प्रारम्भिक निर्वाचन गराउने छ ।
सागर ढकालले पार्टी बनाउँदै गर्दाखेरि यसको प्रमुख उद्देश्य बिर्सिनु नहुने सुनाए । अब पालिकाको निर्वाचन आउन लागेको कुरा स्मरण गर्दै ढकालले पार्टीमा क्याडिडेट क्लबमा आवेदन दिन समेत अनुरोध गरे । पार्टीले फेसबुकमा कस्ले कति लाइक र कमेन्ट पायो र कति फलोअर्स छ भन्ने विषयलाई मात्र नहेरी विभिन्न परीक्षा पास गर्नुपर्ने बताए ।
‘अहिले अधिवेशनमा छौं हामी निर्वाचन सकिएको ६ महिनामा हामी अधिवेशन गर्छौ भनेर लागेका हौं । यहाँ कस्तो कति भ्यु गयो भन्ने होइन सबै समान छन अब पालिकाको चुनाव पनि आउँदै छ । हाम्रो क्यान्डिडेट क्लब छ त्यहाँ तपाइहरु सबैले आवेदन दिनुहोला’ उनले भने, ‘त्यसपछि पर्सेन्ट माक्र्स र परीक्षा हुन्छ अनि अन्तरवार्ता पनि त्यसपछि मतदान हुन्छ अनि मात्रै तपाईँ उम्मेदवार बन्न पाउनुहुन्छ ।’ यस्तै अहिले सरकारले एक दुई वर्षका लागि मात्रै सोचेर नभइ अबको तीन पुस्तासम्मका लागि सोचेर काम गरिरहेको उनको भनाइ छ ।
प्रथम अधिवेशनमा गण्डकी अध्यक्षमा चार जनाको आकांक्षा देखिएको छ । वर्तमान सभापति नवीन त्रीपाठीसहित कुमार खड्का, राजन लम्साल र हरि कार्कीले आकांक्षा देखाएका छन ।





