पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । शुक्रबार राति अबेर भएको मतदानमा अरु ३ उम्मेदवारलाई पछि पार्दै त्रिपाठी पार्टीको प्रथम अधिवेशनबाट विजयी भएका हुन् ।
सभापतिका लागि कास्कीका त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की र नवलपुरका राजन गौतम उम्मेदवार थिए । शुक्रबार राती ११ बजे मतदान सुरु भएको थियो । त्यससअघि सभापतिका आकांक्षीहरु बीच सर्वसम्मतिको प्रयास गरिएको भए पनि सफल हुन सकेन ।
गौतम बहालवाला सभापति र प्रतिनिधि सभा सदस्यसमेत हुन । विजयी त्रिपाठी भने महासचिव थिए । त्रिपाठीले २ सय ३४ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिस्पर्धी बहालवाला सभापति समेत रहेका गौतमले १ सय ८२ मत पाए । सभापतिका अर्का उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरे । पहिलो चरणमै ५० प्रतिशत मत ल्याएर त्रिपाठी विजयी भएका हुन् ।
यस्तै, प्रदेश सदस्यका लागि ५१ जनाले उम्मेदवारी दिएकोमा विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकाङ्क्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेदवार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका एकएक जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेदवारी परेको थियो । समावेशीबाट १५ जना निर्वाचित भएको भएपनि उनीहरुको विवरण आउन बाँकी छ ।
प्रदेश सदस्यका लागि ५१ आकाङ्क्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मिना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।





