बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

दुई सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रको रूपमा विकास गर्दै ३ हजार रुद्राक्ष रोपण गर्न लागिएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८३, शनिबार
तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण गरिने भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
यहाँको दुई सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रको रूपमा विकास गर्दै रुद्राक्ष रोपण गर्न लागिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । “ठूलो परिमाणमा तनहुँमा पहिलो पटक रुद्राक्ष रोपण गर्न लागिएको हो”, उनले भने, “यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाइएको छ ।”
ती दुई सामुदायिक वनमा तीन हजार रुद्राक्षका बिरुवा रोपण गर्ने तयारी भइरहेको प्रमुख डिभिजन वन अधिकृत रानाभाटले बताए । उनले भने, “रुद्राक्षको पकेट क्षेत्रको रूपमा विकास गर्दै उक्त सामुदायिक वनलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो । हिन्दु धार्मालम्वीका लागि महत्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ ।”
जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्षयता परीक्षणका रूपमा रोपण गरिएको रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तारित गर्न लागिएको वन अधिकृत अरुण पराजुलीले जनाए । “प्रारम्भिक चरणमा दुवै वनमा रुद्राक्ष खेती विस्तार गर्ने लक्ष्य लिइएको छ भने क्रमशः अन्य वन उपयोगकर्ता समूहमा समेत कार्यक्रम लैजान तयारी भइरहेको छ”, उनले भने । पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोपण गरिने उनको भनाई छ ।
सामुदायिक वन उपभोक्ताका अनुसार रुद्राक्ष खेतीबाट वन संरक्षण र स्थानीय रूपमा आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ । परम्परागत रूपमा दाउरा र घाँसमा निर्भर रहँदै आएको सामुदायिक वन व्यवस्थापनलाई अब आयमूलक वन उपज उत्पादनतर्फ मोड्न रुद्राक्ष सहायक बन्ने उपभोक्ताको अपेक्षा छ ।
रुद्राक्षको वृक्षले घना छायाँ र माटोको क्षय नियन्त्रणमा सहयोग गर्ने भएकाले सामुदायिक वन क्षेत्रको वातावरणीय सुधारमा समेत सकारात्मक प्रभाव पर्ने प्राविधिकले बताएका छन् । वन क्षेत्रभित्र नै रुद्राक्ष खेती विकास गर्न सकिने भएकाले जग्गा व्यवस्थापनमा चुनौती नरहने पराजुलीले बताउनुभयो । प्रारम्भिक वर्षमा सिँचाइ, मल तथा संरक्षणमा ध्यान दिनुपर्ने वन डिभिजन कार्यालयले जनाएको छ ।
स्थानीय तहले धार्मिक क्षेत्रमा रुद्राक्ष रोपण गर्दै आए पनि डिभिजन वन कार्यालयले पहिलो पटक ठूलो परिमाणमा रुद्राक्ष रोपणलाई प्राथमिकता दिएको छ । केही पालिकाले सामुदायिक वनमा नयाँ बिरुवा रोपिरहेका उपभोक्ता समूहलाई प्रोत्साहन, प्राविधिक तालिम र नर्सरी विकासका लागि तालिम दिने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
हिन्दू धर्ममा पवित्र मानिने रुद्राक्षलाई भगवान शिवको प्रतिकका रूपमा लिइन्छ । यसको धार्मिक, आध्यात्मिक तथा स्वास्थ्यसम्बन्धी विभिन्न उपयोगिता रहेको विश्वास गरिन्छ । धार्मिक तथा आध्यात्मिक रूपमा माला बनाएर मन्त्र जप गर्न प्रयोग गरिन्छ । धार्मिक रूपमा मनलाई शान्त र एकाग्र बनाउन सहयोग गर्ने विश्वास छ । तनाव, चिन्ता र मानसिक अशान्ति कम गर्न मद्दत गर्ने विश्वास छ । आत्मविश्वास र सकारात्मक सोच बढाउन यसको उपयोगले सहयोग पुग्ने र स्मरण शक्ति सुधार गर्न प्रयोग गरिएको पाइन्छ ।
रक्तचाप (ब्लड प्रेसर) सन्तुलित राख्न सहयोग गर्ने परम्परागत विश्वास छ भने मुटुसम्बन्धी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र शरीरमा ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ । सांस्कृतिक तथा आर्थिक रूपमा नेपालको विशेषगरी पूर्वी पहाडी क्षेत्रमा रुद्राक्षको उत्पादन हुने भएकाले यसको आर्थिक महत्व रहेको छ । रुद्राक्ष धार्मिक पर्यटन र व्यापारसँग पनि जोडिएको छ । विभिन्न मुखी (१ मुखीदेखि २१ मुखीसम्म) रुद्राक्षको बजार मूल्य फरक–फरक रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->