पोखरा / शेर्पा समाज पोखराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । सागादावाको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
पोखरा महानगरपालिका ७ का वडाध्यक्ष राममोहन आचार्यले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । सोही क्रममा बोल्दै वडाध्यक्ष आचार्यले सगदावालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभइ सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा मनाउनुपर्ने बताए ।
उनले रक्तदान कार्यक्रममार्फत् मानव सेवा, सहयोग र परोपकारको सन्देश प्रवाह भएको बताए । कार्यक्रममा सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर गुरुङ, पूर्वाञ्चल सेवा समाज कास्कीका अध्यक्ष बालकुमार लुइँटेल, सन्दर्भ टोल विकास संस्थाका सल्लाहकार एवं अधिवक्ता रघुनाथ अधिकारी तथा समाजका कानूनी सल्लाहकार केशवराज बराललगायतले रक्तदान गर्नु पुण्यको कर्म भएकाले सबैले रक्तदान गरे रगत अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताएका थिए
समाजका अध्यक्ष राजेश शेर्पाले रक्तदान कार्यक्रममा सहभागी भएका रक्तदाता, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम सञ्चालन समाजका सचिव दावा शेर्पाले गरेका थिए ।
कस्तो पर्व हो सगदवा ?
सगदाबा बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व हो । तर हिमाली बौद्धहरुले वैशाखको बुद्ध पूर्णिमाको ठीक १ महिनापछि यो पर्व मनाउँछन् । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सग (विशाखा) दावा (महिना) ‘सगदावा’ भनिएको हो ।
यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जना विश्वास रहेकोले यो महिनालाई बुम ग्युर दावा पनि भन्ने गर्दछ । तसर्थ बौद्धमार्गीहरुले यो महिनामा ञ्युङ्ने व्रत, बुद्ध वाचन (कंग्युर) को पाठ, धार्मिक प्रवचन, बौद्ध, स्वयंभू आदि पवित्र स्थल परिक्रम, अष्ठाङ्ग ढोक, पाठपूजा, नगद दान, भोजन दान, रक्तदान आदि शुद्ध मनले पुण्य कार्य गर्ने गर्दछन् ।





