संयोग के भने, अहिले सभापतिमा विजयी त्रिपाठी र पराजित उम्मेदवार गौतमबीच पुरानो भूगोलको नाता छ ।
पाेखरा / संघीय सांसद राजन गौतमको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सभापतिमा दोहोरिने चाहना टुटेको छ । शुक्रबार अबेर सम्पन्न निर्वाचनमा उनलाई आफ्नै समितिमा रहेका महामन्त्री नवीन त्रिपाठीले ‘हार’को स्वाद चखाए । त्रिपाठीले पहिलो चरणमै २३४ मत ल्याउँदा बहालवाला सभापति गौतमले १८२ मत पाए । सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले जम्मा २ मत प्राप्त गरे ।
गएको फागुन २१ गते सम्पन्न संघीय संसदको चुनावमा राजन नवलपुर १ बाट भारी मतले विजयी बनेका थिए । गौतमले ५० हजार ९४५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ र एमालेका भगीरथ सापकोटा ९ हजार १३१ मत ल्याएका थिए ।
संयोग के भने, अहिले सभापतिमा विजयी त्रिपाठी र पराजित उम्मेदवार गौतमबीच पुरानो भूगोलको नाता छ । त्रिपाठी पोखराको हेमजाका बासिन्दा हुन् भने नवलपुरबाट सांसद बनेका गौतमको पुरानो थातथलो कास्कीको उत्तरी गाउँ माछापुच्छे« नै हो । हेमजा माछापुच्छे« गाउँपालिकाको प्रवेशद्वार हो । गौतमका पिता पूर्णप्रसाद गौतम कास्कीको धितालबाट नवलपुर बसाइँ सरेका थिए ।
२०४३ सालमा देवचुली नगरपालिका–१६, रजहरमा जन्मेका उनी देवचुली कलेज रजहरमा २०७१ देखि २०७७ सम्म क्याम्पस प्रमुख थिए । ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ बाट सम्मानित भएका तर,२०७९ मा रास्वपा गठन भएपछि चाहिँ उनी रास्वपामै संगठित हुँदै गण्डकी प्रदेश सभापति बनेका थिए ।
नवनिर्वाचित सभापति त्रिपाठी लोकतान्त्रिक विचारधाराबाट प्रेरित छन् । उनी कुनै पार्टीसँग आवद्ध त थिएनन् तर उनको परिवारका अधिकांश सदस्यहरु नेपाली कांग्रेस निकट रहेका छन् । रास्वपा गण्डकी महामन्त्रीमा उनलाई गौतमले नै मनोनित गरेका थिए । महामन्त्रीको रुपमा देखाएको क्रियाशिलता तथा वर्तमान सभापति गौतमसँग खासगरी कास्कीका केही नेताहरुको मन नमिलेका कारण अहिलेको चुनावी परिणाम आएको हो । रास्वपाको विधान अनुसार प्रदेश समिति ४७ सदस्यीय हुन्छ । जसमा ११ जिल्ला सभापति पदने सदस्य रहने व्यवस्था छ भने २ जना सदस्य सभापतिले मनोनित गर्नेछ । प्रदेश समितिमा सभापतिसहित ३४ जना निर्वाचित हुने व्यवस्था छ ।
कास्की सभापतिमा १ मतले विजयी बनेका यदुनाथ अधिकारीको पुरानो साइनो एमालेसँग जोडिएको छ । त्यसो त, नेकपा माओवादीको प्रभाव विस्तारको क्रममा उनी माओवादीमा पनि सक्रिय देखिए । तर,रास्वपाको उदयसँगै यदुनाथले राजनीतिक धार बदले । उनीसँग प्रतिस्पर्धामा उत्रिएका एकराज न्यौपानेको पृष्ठभूमि पनि एमाले नै हो ।
स्याङ्जा रास्वपामा विजयी बनेका विश्वास भण्डारीको पृष्ठभूमि एमाले हो । उनी रास्वपाका संस्थापक जिल्ला सभापति पनि हुन् । उनी पोखरामा बसेर व्यवसाय गर्छन् । अर्का उम्मेदवार उपेन अर्याल चाहिँ होटल व्यवसायी हुन् । उनी रास्वपा लाग्नुअघि कांग्रेसप्रति सद्भाव राख्थे ।
पर्वत सभापति विजयी जालबहादुर पुन निर्वाचित भए । पुनले गंगालाल रिमाललाई हराएका हुन् । उनी रास्वपा लाग्नुअघि नेपाली कांग्रेस निकट थिए ।
रास्वपा लमजुङका अशोक सापकोटाको पृष्ठभूमि एमाले हो । सदस्यता नलिए पनि उनका पिता एमालेकै संगठित रहेका थिए । उपाध्यक्षमा वितेजा सन्तोषी गौलीको पृष्ठभूमि माओवादी हो । सचिवमा जित्ने मीना खड्काको पृष्ठभूमि कांग्रेस हो । सभापतिको सभापति पदका अन्य उम्मेदवारमध्ये हरिबहादुर धितालले ३३, विजयरञ्जन पौडेलले १६ र नवराज पहाडीले ७ मत प्राप्त गरेका थिए ।
रास्वपा म्याग्दी सभापतिमा यसअघिकै सभापति युवराज रोका सर्वसम्मत चयन भएका छन् । रास्वपा लाग्नुअघि उनको राजनीतिक पृष्ठभूमिबारे कमैलााई मात्र जानकारी छ । फागुन २१ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका उनले महावीर पुनलाई सघाउन उम्मेदवारी फिर्ता गरेका थिए ।
बागलुङ सभापतिमा विजेता पुनम शर्मा एमाले पृष्ठभूमिबाट रास्वपा आएका हुन् । उनी अघिल्लो चुनावमा बागलुङ नगरपालिका ३ बाट एमालेको तर्फबाट उम्मेदवारी चाहन्थे । तर, उम्मेदवार बन्न नपाएपछि उनी बागी बने । हालै सम्पन्न चुनावमा उनीसँग प्रतिस्पर्धा गरेका मनोज खड्का चाहिँ कांग्रेस जिल्ला सदस्य थिए ।
गोरखाको सभापति विजेता सुवर्ण रोकाहा क्षेत्रीको राजनीतिक पृष्ठभूमि वैकल्पिक शक्तिनिकट भएको स्रोतले बतायो । डा.बाबुराम भट्टराईको वैकल्पिक शक्तिको अभियानमा जोडिएका अधिकांश नेताहरुले नयाँशक्ति छाड्ने क्रममा गएका नेताहरु नै अहिले रास्वपामा रहेको पनि ती नेताले बताए । उपसभापतिमा सुकबहादुर तामाङ निर्वाचित भएका छन् । सचिवमा मिलन राना निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा योगेन्द्रजंग बस्नेत रसदस्यहरुमा अञ्जना काप्री (खुल्ला महिला), रिता श्रेष्ठ (जनजाती), बिष्णुमाया अम्गाई (खुल्ला), सानुमैया नेपाली ( दलित महिला), मञ्जर अन्सारी (मुस्लिम) र सुमित गुरुङ (खुल्ला पुरुष) निर्वाचित हुँदा ती अनुहारहरु छ्यासमिसे देखिएको रास्पपाका एक नेताले बताए ।
तनहुँ सभापति विश्वनाथ बास्तोला कांग्रेस छाडेर रास्वपामा संगठित बनेका हुन् । सचिव भइसकेका विश्वनाथ बाँस्तोला र कांग्रेसको प्रशिक्षण विभाग सदस्य बनिसकेका डा. शेषरमण न्यौपानेबीच त्यहाँ सभापतिको लागि प्रतिस्पर्धा भएको थियो ।उपनिर्वाचनअघि विश्वनाथ डा.स्वर्णिम वाग्लेलाई पच्छ्याउँदै रास्वपा प्रवेश गरेका हुन् ।





