मनाङ/ भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालयका सूचना अधिकारीसमेत रहेका उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा शनिवार पक्राउ गरेको हो ।
अख्तियारका अनुसार जग्गा रोक्कासम्बन्धी काम सहजीकरण गरिदिने भन्दै कण्डेलले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उजुरीका आधारमा निगरानी गरिरहेको अख्तियारको टोलीले घुस रकम बुझ्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार पोखराले जनाएको छ ।
अख्तियार कार्यालय पोखराका सूचना अधिकारी उपसचिव रामहरि शर्माका अनुसार पक्राउ परेका परेका कण्डेललाई आवश्यक अनुसन्धानका लागि पोखरा ल्याई काठमाडौं पठाइएको छ ।





