शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जेष्ठ नागरिकलाई दुर्व्यवहार होइन, सम्मान गरौं

जेष्ठ नागरिकलाई दुर्व्यवहार होइन, सम्मान गरौं


  • ढाेरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

बागलुङ/जेष्ठ नागरिकहरुका लागि नेपालको कानूनले अधिकारहरु दिएको छ । तर परिवारभित्रै उनीहरु अपमान र घृणाको पात्र बनिरहेका छन् । उनीहरुलाई कानून अनुसार सम्मानित भएर बाँच्न पाउने अधिकार दिन परिवारकै सदस्यले महत्वपुर्ण भूमिका खेल्नुपर्ने सरोकारवालाले बताएका छन् ।

जेष्ठ नागरिक जिल्ला संघ बागलुङको आयोजनामा आयोजित जनचेतनामुलक कार्यशालामा सहभागिले जेष्ठ नागरिकलाई परिवारभित्रै अपमान भएको बताए । उनीहरुले समाजमा समेत दुर्व्यवहार गरिने र संरक्षणका लागि राज्यका निकायले चासो नदिएको गुनासो छ ।

सोमबार भएको कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जेष्ठ नागरिकलाई परिवार र समुदाय र परिवारभित्रै सम्मानको वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । उनले नगरपालिकाले जेष्ठ नागरिकका लागि दिवा सेवा संचालनमा सहयोग गर्ने, अन्य मनोरञ्जनात्मक काम गर्न बजेट विनियोजन गर्ने काम गर्न सकिने बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले घर परिवारको जिम्मेवारी पुरा गरियो भने कोही जेष्ठ नागरिक सडकमा आउन नपर्ने, अपमानित हुन नपर्ने धारणा राखे । कानूनले उनीहरुको अधिकार संरक्षण गरेको कार्यान्वयन गर्ने निकाय सचेत बन्नुपर्ने बताए ।

उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीषले जेष्ठ नागरिकहरु अहिलेको विकासको अगुवा भएको बताइन् । उनले जेष्ठ नागरिकको योगदानको मूल्यांकन गर्न नसकेमा भविष्य पनि सुधार गर्न नसकिने भन्दै सामान्य अवस्थामा पनि जेष्ठ नागरिकलाई दुर्व्यवहार भैरहेको बताइन् । घरमा शौचालय उचित नबनाइदिएको, खाने समय नमिलाईदिने, खानेकुरा उचित खालको नदिने जस्ता विभेद घरबाटै हुँदा उनीहरु दुव्र्यवहारमा परेको बताइन् । त्यसका लागि परिवारका सदस्यकै जिम्मेवारी बढी हुने उनको धारणा छ ।

जेष्ठ नागरिक संघ बागलुङका अध्यक्ष चिरञ्जिवी श्रेष्ठको अध्यक्षता, सचिव बद्रीप्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व सांसद मनकुमारी केसी, बागलुङ नगरपालिका वडा नं. ३ का अध्यक्ष सनि केसी, एकीकृत विकास कार्यालयका प्रतिनिधि श्याम थापा लगायतले कार्यक्रमको शुभकामना दिए ।

भेलामा ९० वर्ष पुग्न लागेका जेष्ठ नागरिकहरुले परिवारका सदस्यको जिम्मेवारी र कर्तव्य पालनाबाट जीवन सुखमय भएको, परिवारकै सदस्यले हेलाहा गर्दा समाजमा पनि अपमानित भएको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->