पोखरा/ नेपाली चिया उद्योग हाल गम्भीर संकटबाट गुज्रिरहेको भन्दै अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेको छ। संघका अध्यक्ष ढाकाराम पौडेलद्वारा जारी विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गर्न लागेको नयाँ मापदण्डका कारण नेपाली चियाको निर्यात प्रभावित भएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार भारतले मे १, २०२६ देखि लागू गर्ने स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) का कारण नेपाली चिया उत्पादकहरू समस्यामा परेका छन्। परीक्षणका लागि भारत पठाइएका चियाको प्रतिवेदन महिनौँसम्म नदिने तथा सामान्य कमजोरी देखिएमा चिया नष्ट गर्ने व्यवस्था गरिएकाले उद्योगीहरू चिन्तित बनेका छन्।
नेपालमा उत्पादित करिब ८६ देखि ९० प्रतिशत चिया भारत निर्यात हुने गरेको छ। हाल भारतीय गोदाममा करिब दुई लाख किलो चिया थन्किएको छ भने थप १० लाख किलोभन्दा बढी चिया नेपालमै निर्यातको प्रतीक्षामा रहेको बताइएको छ।
संघका अनुसार करिब साढे चार अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको क्षेत्रमा हालसम्म ३० वटा उद्योग बन्द भइसकेका छन् भने थप ८३ उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। यसबाट करिब ७० हजार मजदुर र १५ हजारभन्दा बढी किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
संघले चिया उद्योगको संकटलाई राष्ट्रिय उत्पादन, रोजगारी, निर्यात तथा विदेशी मुद्रा आर्जनसँग जोडिएको गम्भीर आर्थिक विषयका रूपमा लिँदै नेपाल र भारतबीच उच्चस्तरीय कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। साथै अन्य मुलुकमा समेत चिया निर्यात विस्तारका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ।
संघका अध्यक्ष पौडेलले चिया उद्योगको दीर्घकालीन संरक्षण तथा निर्यात व्यवस्थापनका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।





