पोखरा / युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यका साथ ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा “आध्यात्मिक जागरणद्वारा विश्व नवनिर्माण–२०८३” विषयक क्षेत्रीय शुभारम्भ, युवा प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ तथा दुई दिवसीय युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
ओम् शान्ति फूलबारीस्थित राजयोग सभाहलमा असार २ र ३ गते सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठी विशेष अतिथिका रूपमा थिए ।
संस्थाको माउन्ट आबूस्थित अन्तर्राष्ट्रिय मुख्यालयबाट आएका युवा प्रभागका राष्ट्रिय समन्वयक ब्रह्माकुमार जीतु भाइ तथा भारतबाट आएका रेडियोलोजिस्ट एवं एमआरआई विशेषज्ञ डा. राजेश भाइले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन तथा राजयोग ध्यानसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिनीता दिदीजीले गरेकी थिइन् । कार्यक्रमको प्रारम्भमा महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीले युवाहरूलाई आध्यात्मिक मूल्य, सकारात्मक सोच तथा आत्मपरिवर्तनमार्फत समाज र राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरणा दिएकी थिइन् ।
पश्चिम नेपालका विभिन्न जिल्लाबाट आएका करिब १५० भन्दा बढी ब्रम्हमाकुमार (युवा) र ब्रम्हाकुमारी (युवती) को सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले प्रशिक्षणबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्राप्त भएको अनुभव व्यक्त गरेका थिए ।





