पोखरा/गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर शेरचनबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको अंकमा फरक भेटिएको छ ।
अर्थमन्त्रीले सोबार बजेट पेश गर्दा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका थिए । तर, उद्योगको लागि विनियोजित रकम ९२ करोड ४९ लाख रहेको थियो ।
बजेट वक्तव्यमा २ अर्ब लेखिए पनि अनुसूचीमा त्यस्तो नभएपछि मंगलबार त्यसलाई कसरी मिलाउने भन्नेबारे मुख्यमन्त्रीकै रोहवरमा छलफल चल्यो । यसअघि कर्मचारीहरुले अन्य मन्त्रालयका लागि विनियोजित कार्यक्रमलाई उद्योग, पर्यटनमा थपेर अंक २ अर्ब पु¥याउने मेसो मिलाए ।
ग्रामीण कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम, कृषि उद्यमीहरूका लागि अनुदान, कृषि विकास उद्यम कार्यक्रम, तिल्चे ताचै बगरछाप घैलाञ्चोक ओडार मर्कुडाँडा घेराङ ताल पदमार्ग निर्माण, धौवादीलगायत अन्य संस्था र कम्पनीहरूमा सेयर लगानी, फिलिम–लार्केपास पदमार्ग, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम, वैकल्पिक पर्यटकीय पदमार्ग, संस्कृति, भाषा एवं पुरातत्व क्षेत्रका विभिन्न कार्यक्रमहरू लगायत १७ वटा शीर्षकलाई समावेश गर्दा २ अर्बको अंक मिल्यो । तर, जोडजाड गरेर जवाफ दिँदा वा संसदमा उपस्थित हुँदा झन् अर्को गल्ती हुने भन्दै सच्चाउने सहमति बन्यो ।
अनुसूचीमा साढे ९२ करोड नै भएकाले वक्तव्यमा २ अर्ब नै हो भनेर जोड दिनुको सट्टा गल्ती सच्याउँदै संसदलाई जानकारी दिन उपयुक्त हुने मुख्यमन्त्री पाण्डेसहितको छलफलले निष्कर्ष निकाल्यो । ‘मुख्यमन्त्रीसँग बस्यौँ । मन्त्रालयको बजेट अनुसूची अनुसारकै (साढे ९२ करोड) नै हो । तर, जोड्दा अरू–अरू पनि देखियो,’ अर्थमन्त्री शेरचनले भने, ‘अबको संसद बैठकमा यसलाई सच्याएर एउटा पेपर संसदलाई दिने र प्राविधिक रूपमा गल्ती भएको जानकारी दिने निर्णय भएको छ ।’
एउटा मन्त्रालयको सिलिङभित्र भएको कार्यक्रम अर्को मन्त्रालयतिर देखाउँदा बजेटको सिलिङमै तलमाथि हुन सक्थ्यो । मंगलबार बिहान पर्यटन मन्त्री रिमाल अर्थमन्त्री शेरचनलाई भेट्न पुगिन् । छलफलका क्रममा पनि के गर्ने भन्ने उनीहरूले निष्कर्ष निकाल्न सकेनन् ।
उद्योग र पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ नै बजेट विनियोजन गरिएको तर त्यो अन्य मन्त्रालयहरूबाट पनि कार्यान्वयन हुने अर्थमन्त्री शेरचनको भनाइ थियो । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमलाई समेत उद्योग–पर्यटनमै जोडेर अंक पु¥याउँदा हिसाब मिल्ने अवस्था थिएन । तर अर्थमन्त्रीको दाबी समग्र क्षेत्रका लागि २ अर्ब रुपैयाँ नै थियो । कर्मचारीहरूले भने बजेट फाइनल गर्ने बेलामा गल्ती भएको बताइरहेका छन् ।
बजेट वक्तव्यमा पर्यटनको बजेट गडबड भएको विषय तात्दै गएपछि अर्थ मन्त्रालयका सचिव, उपसचिवसहितका कर्मचारीहरू मुख्यमन्त्रीलाई भेट्न पुगे । पछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मन्त्रीहरूको छलफल भयो । छलफलबाट अन्य मन्त्रालयका कार्यक्रमहरूसमेत उद्योग तथा पर्यटन क्षेत्रमा ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टु लेक’ कार्यक्रमलाई सरकारले बजेटमार्फत निरन्तरता दिएको छ । फेवातालमा सेल्फी पुल, रुपामा सिसाको पुल जस्ता कार्यक्रम समेटिएका छन् ।
पोखरालाई माइस्, स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । ‘राउन्ड फेवाः भ्यू फेवा’, धार्मिक पर्यटन परिपथ, मनास्लु–अन्नपूर्ण–धौलागिरि–ढोरपाटन पदमार्ग स्तरोन्नति तथा सूचना प्रविधि पार्क निर्माणका कार्यक्रम समेटिएका छन् ।
प्रदेश सरकारले पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ ।





