पोखरा / गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमा सार्वजनिक गरिएको उद्योग तथा पर्यटन मन्त्रालयलाई छुट्टाएको बजेट सच्याएको छ । आर्थिक मामिला मन्त्री जितबहादुर शेचनले प्रदेशसभाको आजको बैठकमा बजेट वक्तव्यका क्रममा तथ्यांकमा भएको गम्भीर त्रुटिलाई लिएर प्रदेश सभामा माफी मागदै उक्त बजेट अंक सच्चाएका हुन् ।
असार १ गते सार्वजनिक गरिएको बजेटमा उद्योग तथा पर्यटन मन्त्रालयलाई २ अर्ब रुपैयाँ छुट्टाएको मन्त्री शेरचनले जनाएका थिए । तर मन्त्रालयगत बजेट र रातो किताबमा वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको भन्दै मन्त्री शेरचनले विहीबार प्रदेश सभालाई जानकारी गराएका हुन् । ‘बजेट वक्तव्यको बँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख हुनुपर्नेमा अन्यथा भएकोमा कमजोरीप्रति क्षमा चाहन्छु’ मन्त्री शेरचनले भने ।
बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गरेपछि यस विषयमा प्रश्न उठेको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको छलफलले वक्तव्यलाई मिलाउनुभन्दा त्रुटि सच्याएर संसदलाई जानकारी गराउने निष्कर्ष निकालेको थियो । सोही अनुसार मन्त्री शेरचनले आजको प्रदेश सभामा उक्त जानकारी गराएका हुन् ।





