पोखरा /गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रेशमबहादुर जुग्जालीले अर्थ मन्त्रालयमा लगातार भइरहेका प्राविधिक र व्यवस्थापकीय त्रुटिहरूको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् ।
‘अहिले प्रदेश संरचनामाथि चौतर्फी हमला भइरहेको छ, यस्तो बेला हामीले प्रदेशलाई बलियो बनाउन लाग्नुपर्छ,’ बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै जुग्जालीले भने, ‘तर अर्थ मन्त्रालयमा लगातार त्रुटि भइरहेका छन् । यसले मन्त्रीको भन्दा पनि मन्त्रालयका सचिव, महाशाखा र शाखामा कार्यरत कर्मचारीहरूको क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । त्रुटि कर्मचारीले गर्ने र आक्षेप जति जनप्रतिनिधिले भोग्नुपर्ने अवस्था आउन दिनु हुँदैन ।’
गण्डकी प्रदेशको मुख्य समस्या आफ्नै खुट्टामा उभिन नसक्नु रहेको उनले औंल्याए । ३३ अर्बको बजेट आए पनि आन्तरिक राजस्व लक्ष्यअनुसार उठ्न नसक्दा बजेट ठूलो घाटामा रहेको उनको विश्लेषण थियो । ‘सङ्घीय सरकारबाट समानीकरण, विशेष र समपूरक अनुदान आए पनि हाम्रो स्रोतले पुग्दैन । बजेटमा आन्तरिक ऋणको शीर्षक राख्नु बाध्यता हो, म आफैँ अर्थमन्त्री भएको भए पनि राख्थेँ,’ जुग्जालीले थपे, ‘तर आन्तरिक ऋण परिचालनका लागि अहिलेसम्म प्रदेशमा कानुन बनेको छैन । सरकारले सङ्घीय सरकारसँग समन्वय गरी तत्काल कानुन बनाएर यसलाई परिचालन गर्ने वातावरण बनाउनुपर्छ, नत्र आकर्षक नारा र कार्यक्रम ल्याए पनि घाटा बजेटले कार्यान्वयनमा ठूलो प्रभाव पार्छ ।’
उनले बजेट निर्माणको शैलीप्रति व्यङ्ग्य गर्दै अगाडि ‘डाक्टर’ (डा.) लेख्ने अर्थविद्हरूले ल्याउने बजेट पनि व्यावहारिक र राम्रो हुन नसकेको टिप्पणी गरे । गण्डकी प्रदेशमा ठूला उद्योगहरू नभएकाले कृषि, पर्यटन र ऊर्जा नै समृद्धिका मुख्य आधार भएको उनले बताए । भारतीय पर्यटकहरूलाई आकर्षित र व्यवस्थित गर्न सके घाटा बजेट पूर्ति गर्न सहज हुने भन्दै उनले सरकारलाई सोहीअनुसारका पूर्वाधार बनाउन सुझाव दिए ।
यस्तै, लामो समयदेखि बन्द रहेका गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना ब्युँताउने नाममा समय खेर फाल्नुभन्दा प्रदेशकै गौरवका आयोजनाका रूपमा रहेका पुँडीटार र लोकाहा खोला औद्योगिक क्षेत्र निर्माणमा सम्पूर्ण तागत लगाउनुपर्नेमा उनले जोड दिए ।
‘बागलुङका शक्तिशाली मन्त्रीका कारण म्याग्दीले बजेट पायो होला’
सांसद जुग्जालीले सरकारलाई आफ्नो वास्तविक क्षमता र स्रोतका आधारमा मात्र बजेट हुनुपर्ने बताए । सरकारमा बागलुङबाट दुई जना शक्तिशाली मन्त्रीहरू (भौतिक पूर्वाधार र अर्थमन्त्री) रहेको प्रसङ्ग जोड्दै उनले ठट्टाको शैलीमा भने, ‘सरकारमा बागलुङका शक्तिशाली मन्त्रीहरू हुनुहुन्छ, त्यसैले गण्डकीको कर्णाली क्षेत्र मानिने छिमेकी जिल्ला म्याग्दीमा पनि बजेटको केही बाछिटा प¥यो होला भन्ने विश्वास लिएको छु ।’
समग्रमा बजेटले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेकाले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।





