पोखरा /गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेटमाथिको छलफलमा एमाले सांसद सीताकुमारी सुन्दासले आफ्नो निर्वाचन क्षेत्र र गाउँको विकासका लागि जनप्रतिनिधिहरू चिन्तित हुनु स्वाभाविक भएको बताएकी छन् । उनले आवश्यकताका आधारमा बजेटको समन्यायिक वितरण भएमा मात्रै प्रदेशका सबै नागरिकले खुसीको अनुभूति गर्न पाउने उल्लेख गरिन् ।
‘हामी सबै जना निस्वार्थ, निस्कलङ्क र निडर रूपमा सामाजिक सेवामा समर्पित भएर यो सदनमा उपस्थित भएका छौँ,’ छलफलमा बोल्दै सांसद सुन्दासले भनिन्, ‘विभिन्न पृष्ठभूमि र फरक–फरक भौगोलिक अवस्थितिबाट आए पनि हाम्रा लागि प्रदेशका सबै ८५ वटै पालिका समान छन् र तिनको समान विकास हुनुपर्छ ।’
आफ्नो क्षेत्रको विकासका लागि जोड दिँदा कतै आफू सङ्कीर्ण त भइँन भन्ने प्रश्न गर्दै उनले थपिन्, ‘आफ्नो गाउँ र क्षेत्रको विकासका लागि अत्यन्तै चिन्तित हुनु र योजना पार्न लागिपर्नु जनप्रतिनिधिको दायित्व हो । हाम्रा आवश्यकताहरू असीमित छन् तर स्रोत र साधन अत्यन्तै न्यून छन्, हामीले यही परिधिभित्र रहेर काम गर्नुपर्छ भन्ने यथार्थ भुलेका छैनौँ ।’
नीति तथा कार्यक्रमसँग बजेटको तादाम्यता
सांसद सुन्दासले प्रस्तुत बजेट सरकारको सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रमसँग मेल खाने गरी आएको पाइएको बताइन् । यदि कतै केही महत्वपूर्ण विषयहरू छुटेका भए त्यसलाई आगामी दिनमा बजेट परिमार्जन वा छलफलका माध्यमबाट ‘टाई–अप’ (समावेश) गर्न सकिने उनको भनाइ थियो ।
बजेटले अघि सारेका मुख्य लक्ष्यहरूको चर्चा गर्दै उनले दिगो आर्थिक विकास र आर्थिक वृद्धिदरमार्फत रोजगारी एवं आय आर्जन बढाउने कुरा सकारात्मक रहेको बताइन् । ‘गुणस्तरीय पूर्वाधार निर्माण, निजी र सहकारी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्ने नीतिले उत्पादन र उत्पादकत्व बढाउन मद्दत पुग्छ,’ उनले भनिन्, ‘यसले अन्ततः गरिबी न्यूनीकरण र निवारणमा सहयोग पु¥याउनेछ ।’
नागरिकका आधारभूत आवश्यकता, सेवा र सामाजिक सुरक्षामा पहुँच वृद्धि गर्दै सामाजिक न्याय प्रदान गर्ने बजेटको संकल्पलाई व्यवहारमा उतार्न सरकार दृढ हुनुपर्नेमा उनले जोड दिइन् ।





