पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।
शुक्रबार १९औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन् ।
महानगरले आगामी वर्षका कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यसमध्ये २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ ससर्त अनुदान, ५ करोड ५० लाख रुपैयाँ विशेष अनुदान, १ करोड ८२ लाख रुपैयाँ समपूरक अनुदान तथा ४९ करोड ३७ लाख रुपैयाँ समानीकरण अनुदान रहनेछ ।
प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुने अनुमान गरिएको छ । यसमा ८ करोड १५ लाख ३६ हजार रुपैयाँ समानीकरण अनुदान, ६० लाख रुपैयाँ समपूरक अनुदान र ४० लाख रुपैयाँ विशेष अनुदान समावेश छन् ।
महानगरले आन्तरिक तथा राजस्व बाँडफाँडबाट ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । यसमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँडबापत ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ, गण्डकी प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार रुपैयाँ, स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षका उद्देश्य तथा प्राथमिकता कार्यान्वयन गर्न संघ, प्रदेश र महानगरको आन्तरिक स्रोतलाई आधार मानेर बजेट तयार गरिएको बताइन् ।





