पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत पोखरा महानगरपालिका क्षेत्रबाट थप २३ वटा मोडिफाइड सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको छ ।
प्रहरीले असार ४ गते राती विभिन्न स्थानमा विशेष चेकजाँच सञ्चालन गर्दा स्वरूप परिवर्तन गरिएका सवारी साधन फेला पारेको हो ।
नियन्त्रणमा लिइएका सवारी साधनमध्ये वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारको टोलीले चार वटा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले आठ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म कुल ७१२ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले सवारी साधनको मूल स्वरूप परिवर्तन नगरी पूर्ववत् अवस्थामै सञ्चालन गर्न सवारीधनीलाई आग्रह गरेको छ । साथै मोडिफाइ गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकलाई समेत यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।





