बागलुङ / काठेखोला गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाहमा पालिका जिम्मेवार रहेको बताएको छ । नागरिकको सुचनाको हकको अधिकार, सुशासन र नागरिकमैत्री सेवा प्रवाहमा आफुहरु थप जिम्मेवार रहको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताएका छन् ।
सामाजिक सञ्जालमा शनिवार पालिकाको धारणा सार्वजानिक गर्दै प्रवक्ता विकले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारसँगको सहकार्यप्रति पालिकाको प्रतिबद्धता दोहोराएका हुन् ।
प्रवक्ता विकले लेखेका छन्, ‘समाचारमा उठेका विषयहरुप्रति सचेत रहदै नागरिकहरुको सुचनाको हकको अधिकार, सुशासन र नागरिकमैत्री सेवा प्रवाहमा थप जिम्मेवार रहने प्रतिवद्धता ब्यक्त गर्दछौ ।’
समाचारको विषयलाई लिएर पालिकाका अध्यक्ष राजु थापाले पत्रकार खेमराज गौतम ‘सुवास’लाई धम्कीपूर्ण अभिब्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाले विज्ञप्तीमार्फत विरोध जनाएको थियो ।
प्रवक्ता विकले भनेका छन्- ‘केही दिन अगाडी काठेखोला गाउँपालिकाको विषयलाई लिएर सञ्चार माध्यममा आएको समाचारको विषयमा अध्यक्ष ज्युको प्रतिउत्तर र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले निकालेको प्रेस विज्ञप्ती माथी आम नागरिकहरुको विभिन्न खाले धारणाहरुप्रति काठेखोला गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । काठेखोला गाउँपालिका जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा छ । स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । समृद्ध र विकसित समाज निर्माणका लागि स्थानीय सरकार, जनप्रतिनिधि र पत्रकारहरुको विचमा सहकार्य र सुमधुर सम्वन्ध हुन आवश्यक छ । आगमी दिनहरुमा पनि जनता समाज र देश प्रति उत्तरदायी भएर जाने प्रतिवद्धता ब्यक्त गर्दछौ । साथै समाचारमा उठेका विषयहरुप्रति सचेत रहदै नागरिकहरुको सुचनाको हकको अधिकार, सुशासन र नागरिकमैत्री सेवा प्रवाहमा थप जिम्मेवार रहने प्रतिवद्धता ब्यक्त गर्दछौ ।’





