शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बरेङको नीति तथा कार्यक्रम: प्राथमिकतामा पूर्वाधार, स्वास्थ्य र कृषि

बरेङको नीति तथा कार्यक्रम: प्राथमिकतामा पूर्वाधार, स्वास्थ्य र कृषि

रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण गरी सञ्चालन तथा व्यवस्थापन गर्ने


  • ढाेरपाटन संवाददाता
  • असार ६ २०८३, शनिबार

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँसभाको १७ औं अधिवेशनमा अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय डल्ले खुर्सानीको संरक्षण, प्रवद्र्वन र व्यवसायीकरण गरिने बताए । गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि १२ लाख रुपियाँ विनियोजन गरेको छ ।

कृषि र पशुपन्छी विकासलाई जोड दिईएको नीति तथा कार्यक्रममा कृषि उत्पादन लागत घटाई उत्पादकत्व वृद्धि गर्न कृषिमा आधुनिकरण र यान्त्रिकीकरणलाई प्रोत्साहन गरिने उल्लेख छ । मौरीपालनलाई आयआर्जन, स्वरोजगार तथा कृषि उत्पादन वृद्धिको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न मौरी पकेटक्षेत्र घोषणा गरी आधुनिक घार वितरण, प्राविधिक सहयोग, रोग नियन्त्रण र बजारीकरणमा सहजीकरण गर्ने बरेङले नीति लिएको छ ।

निर्माणाधिन हाटबजारलाई सञ्चालन र व्यवस्थित गरी किसानको उत्पादनलाई बिक्री वितरण गर्न प्रोत्साहित गर्दै स्थानीय प्रमुख बाली संरक्षण तथा प्रवद्र्वन कार्यक्रमअन्तर्गत प्रत्येक वडाको हावापानी, भू–बनोट तथा बजार सम्भावनाका आधारमा एक प्रमुख बाली छनोट गरी व्यवसायिक उत्पादन प्रवद्र्धन गरिने अध्यक्ष शर्माले बताए ।

बरेङले पर्यटनलाई आर्थिक विकासको आधारका रूपमा विकास गर्ने नीति लिएको छ । साग्दी सत्यवती मन्दिर, कालीलेक, सिद्धथान मन्दिर, कौडेडाँडा, छहरेखोला भैंसेखोला झरना, बरेङ फनपार्क, भित्रीवन देउराली, तमुखोला हरितपार्क, भातेपोखरा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासलाई निरन्तरता दिने बरेङको नीति छ ।

‘‘सामुदायिक वन उपभोक्ता समितिलाई जैविक पर्यटन विकास तथा जडीबुटी संरक्षण र प्रवद्र्वनको लागि प्रोत्साहन गरिनेछ’’ शर्माले भने । पर्यटकलाई शत प्रतिशत स्थानीय उत्पादनमा आधारित परिकार, स्थानीयस्तरमै उत्पादित मायाको चिनो व्यवस्था गर्दै स्थानीय उत्पादनलाई पर्यटन प्रवद्र्वन र आर्थिक विकाससँग जोड्ने बरेङले नीति लिएको छ ।

रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण गरी सञ्चालन तथा व्यवस्थापन गर्ने, होजियारी, आलु चिप्स र अचार व्यवसायलाई आवश्यक सहयोग प्रदान गर्ने अध्यक्ष शर्माले शुक्रबार सार्वजनिक गरेको नीतिमा उल्लेख छ ।

विद्यालय र अभिभावकको लागत साझेदारीमा कक्षा ८ देखि १० सम्म गणित, विज्ञान र अंग्रेजी विषयमा कम्तीमा दुई महिना अतिरिक्त कक्षा सञ्चालन गरी नतिजाका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइने, विद्यार्थीलाई मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्ने र विद्यालय जान कठिन भएका बालबालिकाका लागि शिक्षामा समान पहुँच सुनिश्चित गर्न निःशुल्क आवासीय विद्यालयमा अध्ययनको व्यवस्था गर्ने बरेङले नीति लिएको छ ।

स्वास्थ्यतर्फ मोबाइल स्वास्थ्य सेवा, स्वास्थ्य बिमा र बाल पोषण कार्यक्रमलाई निरन्तरता दिने, पाठेघर खसेका महिला र हाईड्रोसिल भएका पुरुषको शल्यक्रिया र उपचारको लागि आवश्यक व्यवस्था गर्ने, खानेपानी परीक्षण केन्द्र स्थापना गरी सबै मुहानको खानेपानीको नमुना परीक्षण र खानेपानी शुद्धीकरणको व्यवस्था गरिने अध्यक्ष शर्माले बताए ।

पूर्वाधार विकासतर्फ बरेङदेखि गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्रसम्म जोड्ने रणनैतिक महत्वको घट्ट मान्द्रेढुङ्गा र मध्यपडाडीदेखि कालीगण्डकी करिडोरसम्म जोड्ने पेरिवाङ–बरेङ–उर्लेनी सडक संघीय सरकारको साझेदारीमा कालोपत्र गर्ने, लिग्दी धनमुढा बाटाकाचौर खानेपानी आयोजनाको काम सम्पन्न गर्ने र दश शैयाको अस्पताल भवन निर्माणको लागि प्रदेश र संघीय सरकारसंग पहल गर्ने गाउँपालिकाले नीति लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->