पोखरा/पोखरा महानगरपालिकाले पोखरा ९,पृथ्वीचोकमा व्यक्तिगत जग्गामै रहेका संरचनाहरु पनि हटाएको छ । महानगरले शनिबार पृथ्वी राजमार्गसँग जोडिएका ३२० वटा सटरहरु हटाएको हो । सटर हटाउन कडा सुरक्षाबीच डोजर प्रयोग गरिएको थियो ।
मेयर धनराज आचार्यका अनुसार सवैभन्दा ठूलो संरचना रहेको बास्तोल कम्प्लेक्समा रहेका सटरहरु सहमतिमै हटाइएका हुन् । त्यो जग्गाधनी र त्यहाँ रहेका व्यवसायीहरुले सहजीकरण गरेसँगै जग्गा सम्याउनको लागि डोजर प्रयोग गरिएको मेयर आचार्यको भनाइ छ । उनका अनुसार सो उपक्रममा पृथ्वी राजमार्ग बनेसँगै सुरु भएको एउटा पेट्रोल पम्पका संरचनाहरु पनि हटाइएको छ ।
‘पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिनलाई सुरक्षित रूपमा छोपेर राखिनेछ । साथै अन्डरग्राउन्ड ट्याङ्की रहेको क्षेत्रको सुरक्षामा ध्यान दिइने छ,’मेयर आचार्यले भनेका छन्,‘ असार ४ गते हटाइएको क्षेत्रमा रहेका पुनः प्रयोग गर्न मिल्ने सामग्री सम्बन्धित जग्गाधनीहरूले उठाइसक्नु भएको हुँदा, बाँकी भत्केका निर्माण सामग्रीहरू तथा हटाउनुपर्ने सामग्री बिस्तारै सफा गरिने छ ।’
मेयर आचार्यका अनुसार बसपार्क क्षेत्रमा रहेका र महानगरमा निवेदन दिएका ५७२ सुकुमवासीमध्ये ३३७ जनाको विवरण जाँच गरिएको र बाँकी पनि छिट्टै सकिने छ । त्यहाँ रहेका केही व्यक्तिहरुले महानगरले मागेको तीनपुस्ते विवरण गलत दिएको र यस्तो गलत विवरण दिनेलाई कारवाही गरिने पनि उनले बताए । विवरण पूरा भएलगत्तै सुकुमवासी बस्ती स्थानान्तरण प्रक्रिया सुरु गरिने पनि मेयर आचार्यले बताए ।





