बागलुङ/बागलुङको काठेखोलालाई प्रमुख मानेर जिल्लामा प्रकाशन हुँदै आएको जननिगरानी साप्ताहिकको नवौैं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले सञ्चार माध्यमहरु स्वतन्त्र र निर्भिक बन्नुपर्ने बताए । उनले सञ्चार माध्यमको भविष्यसँग नागरिकको अधिकार र स्वतन्त्रता पनि जोडिएको बताए ।
‘जतिबेला सञ्चार माध्यमको मुख थुनिन्छ, त्यतिबेला जनताको अधिकार पनि खोसिंदै जान्छ’ थापाले भने, ‘तानाशाहीहरुले सञ्चार माध्यमबाट थालेर नागरिकको अधिकार खोसेका छन् ।’ गणतन्त्रमा आइपुग्दा सबै सञ्चार माध्यम स्वतन्त्र र निर्भिक बन्नुपर्ने पनि उनले बताए । साथै उनले सत्य र तथ्यमा आधारित भएर सूचना प्रकाशन गर्न पनि सञ्चार माध्यम र संचारकर्मीलाई सुझाव दिए ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापति शर्मा, वडा नं. ६ का अध्यक्ष वृहस्पति शर्मा, दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य दीपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, पत्रकार राजेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका प्रतिनिधि राजु गौतम, कृषि सहकारी संघका उपाध्यक्ष मणीभद्र शर्मा, स्वास्थ्य प्राविधिक संघका अध्यक्ष विष्णुनाथ शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गुहेली सहकारी संस्थाद्वारा सञ्चालित जननिगरानी साप्ताहिकका अध्यक्ष तारा कार्कीको अध्यक्षता, सम्पादक अर्जुन कार्कीको स्वागत र प्रकाशन समितिका संयोजक तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यो साप्ताहिकले काठेखोलाको समाचारलाई पहिलो बनाउने र जिल्लाभित्रका समाचार मात्रै प्रकाशन गर्दै आएको सम्पादक कार्कीले जानकारी दिए । काठेखोला गाउँपालिकाको जनप्रतिनिधि आएपछि यो साप्ताहिक शुरु भएको थियो । संस्थापक अध्यक्ष अमर थापाले यो पत्रिकाको विमोचन गरेका थिए ।





