पोखरा /कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१५ मेरिगोल्डस्थित मनिसा थापाको घरबाट सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत जेठ २४ गते दिउँसो घरमा बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्तिले आफू झ्याल–ढोका नाप्न आएको भन्दै घरभित्र प्रवेश गरी कोठाको दराज तोडफोड गरेर विभिन्न सुनका गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा सर्लाही लालबन्दी नगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ शिवनगर टोल बस्दै आएका ३५ वर्षीय भुवन बहादुर साह शंकरको संलग्नता खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका क्रममा चोरीका सुनका गरगहना करिब ६ लाख ५० हजार रुपैयाँमा बिक्री गरिएको खुल्न आएपछि सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भई हाल काठमाडौं मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सुनजस्ता पहेँलो धातुका गरगहना, चाँदीजस्ता सेता धातुका सामग्री, नगद ८१ हजार ५०० रुपैयाँ तथा घटनाका बेला प्रतिवादीले लगाएको कपडा बरामद गरेको जनाएको छ।
दुवै प्रतिवादीविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं सुूचना अधिकारी विरेन्द्रकुमार पासवानले जनाएका छन् ।





