बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रकारितामा एआईको प्रभाव, अवसर र चुनौतीबारे पत्रकारलाई प्रशिक्षण

पत्रकारितामा एआईको प्रभाव, अवसर र चुनौतीबारे पत्रकारलाई प्रशिक्षण

तालिममा एआईको प्रयोग, त्यसका अवसर र चुनौती तथा बदलिँदो सञ्चार परिवेशका विषयमा छलफल गरिएको थियो।


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८३, सोमबार

पोखरा/पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई)को बढ्दो प्रयोग, त्यसले सञ्चार क्षेत्रमा पारेको प्रभाव तथा व्यावसायिक पत्रकारिताको सुदृढीकरणका विषयमा केन्द्रित दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकीको आर्थिक सहयोगमा आयोजित तालिममा एआईको प्रयोग, त्यसका अवसर र चुनौती तथा बदलिँदो सञ्चार परिवेशका विषयमा छलफल गरिएको थियो। तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ४० जना पत्रकारको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्की ले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन व्यावसायिक, जिम्मेवार र विश्वसनीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए। राज्यलाई, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई खबरदारी गर्नको निम्ती पत्रकार जगतको महत्वपूर्ण भुमिका छ र त्यसलाई शक्तिशालि बनाउन सके मात्रै राज्य बलियो हुने उनल बताए ।

तालिममा प्रशिक्षक मिलन श्रेष्ठले कृत्रिम बौद्धिकता, डिजिटल प्रणाली र एल्गोरिदमको प्रभावबारे प्रस्तुति दिएका थिए भने पत्रकार केशवशरण लामिछानेले पत्रकारितामा एआईको प्रयोग, सम्भावना र चुनौतीका विषयमा सहजीकरण गरेका थिए।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल ले पत्रकारिताको विश्वसनीयता, व्यावसायिक मर्यादा र संस्थागत विकासलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका इन्चार्ज गणेश पौडेलले पत्रकारितामा एआईको प्रयोगबारे स्पष्ट बुझाइ विकास गर्न र पत्रकारलाई समयानुकूल प्रविधिमैत्री बनाउन यस्ता तालिम उपयोगी हुने बताए।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरू कृष्णबहादुर थापा र गणेश गिरीले एआईको सही प्रयोगले पत्रकारितालाई थप प्रभावकारी र विश्वसनीय बनाउन सकिने धारणा राख्दै पत्रकारलाई नयाँ प्रविधिसँग अभ्यस्त गराउनुपर्नेमा जोड दिए।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेल ले डिजिटल युगमा पत्रकारितालाई विश्वसनीय र जिम्मेवार बनाउन प्रविधिको सही प्रयोग अपरिहार्य रहेको बताए। यथार्थपरक पत्रकारिताको अभ्यासलाई थप बलियो बनाउँदै प्रविधिलाई सकारात्मक रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष रञ्जिता शर्मा ले पत्रकारलाई एआई तथा बदलिँदो प्रविधिसँग परिचित गराई समयानुकूल दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिइन्। कार्यक्रमको सञ्चालन महासचिव आश गुरुङ ले गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->