
बागलुङ (खर्वाङ)/सरकारी जागिरको रहर गर्ने बडिगाड गाउँपालिका वडा नं. ७ का जिव बहादुर खत्रीले तिन वर्ष दुबईमा बिताए । दुबइको एक अस्पतालमा कार्यरत उनी नेपाल आएको समयमा कोरोना कहरका कारण फेरी विदेश जान पाएनन् ।
नेपालमै रोकिएका खत्रीले देशमै केही गर्ने सोच बनाए र शुरु गरे किवी खेती । शुरुमा १ लाख लगानीमा किवी खेती शुरु गरेका उनले किवीको आम्दानी शुरु नहुन्जेल लगानी उठाउनका लागि अकबरे खुर्सानीको पनि व्यवसायिक खेती थाले ।
एक रोपनी क्षेत्रफलमा १ लाखमा शुरु गरेको जिव बहादुरकोे व्यवसायमा अहिले १६ लाख लगानी पुगेको छ । ४० रोपनी क्षेत्रफलमा खत्रीले खेती गर्दै आएका छन । खर्च कटाएर वार्षिक १५ लाख आम्दानी गर्ने उनै खत्री बडिगाडका उत्कृष्ट उद्यमी बनेका छन् ।
प्रत्यक्ष दुई जनासहित बाह्र जना मौसमी कामदारले काम गर्ने खत्रीको नौला खर्क कृषि तथा पशुपन्छी फर्म बडिगाडका एकानब्बे उद्यमीसंग प्रतिष्पर्धामा थियो ।

default
गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, बडिगाड गाउँपालिका र दायित्व संस्थाका त्रिपक्षिय सहकार्यमा सञ्चालित बुद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन कार्यक्रममा जिव बहादुर खत्री उत्कृष्ट घोषित भएका हुन ।
गण्डकी प्रदेशको ४० लाख, बडिगाड गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको दायित्व संस्था बडिगाडका फिल्ड अफिसर लक्ष्मी विश्कर्माले जानकारी दिइन् ।
निवेदनको आधारमा बडिगाडका ९१ उद्यमीबीच प्रतिस्पर्धा गराउदा उत्कृष्ट ४०, २० र १० को प्रतिस्पर्धामा जिव बहादुर खत्री प्रथम भएको उनले बताइन् ।
कार्यक्रममा सहभागिलाई विभिन्न चरणमा नगदसहित प्रोत्साहन समेत गरिएको थियो । उत्कृष्ट घोषणा अवसरमा पनि नौ जनालाई जनही १ लाख तथा खत्रीलाई १ लाख ५० हजारसहित पालिकामा पुरस्कृत गरिएको विश्वकर्माले बताइन् ।
घोषण कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले केही गर्न चाहनेको लागि देशमै प्रशस्त सम्भावना भएको बताइन् । गण्डकी प्रदेशका पाँच पालिकामा उद्यमी छनोट कार्यक्रम रहेको बताउँदै गाउँपालिका उपाध्यक्ष भिमसेन वनले उद्यमीलाई प्रोत्साहन गर्दै गाँउमै रोजगारी सिर्जना गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए ।





