शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मादी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

मादी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८३, सोमबार

पोखरा / कास्कीकाे मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले साेमबारकाे गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्ध मादीको मूल आधार” भन्ने दीर्घकालीन लक्ष्यसहित समुन्नत मादी निर्माणको प्रतिबद्धता व्यक्त गरिएको छ ।

नीति तथा कार्यक्रमअनुसार कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण र बजारीकरणलाई जोड दिइएको छ । शीत भण्डारण केन्द्र सञ्चालन, मौरीपालन व्यवसायको ब्रान्डिङ, रैथाने बाली संरक्षण तथा पशुपालन क्षेत्रको व्यवसायीकरणलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

युवालाई स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न “रोजगार, सीप तथा उद्यमशीलता प्रवद्र्धन केन्द्र” स्थापना गरी सीप विकास, रोजगार सूचना र उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने भएको छ । सफल उद्यमीलाई “एक वडा, एक सफल उद्यमी सम्मान” कार्यक्रममार्फत प्रोत्साहन गरिने नीति लिइएको छ ।

पर्यटन क्षेत्रअन्तर्गत गुरुङ संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, मादी ट्रेक अवधारणाको विकास, होमस्टे प्रवद्र्धन र कपुचे, कोरी तथा ताराहिल टपलगायत पर्यटकीय गन्तव्यको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्मार्ट बोर्ड, इन्टरनेट सेवा विस्तार र स्थानीय मातृभाषाको संरक्षणलाई जोड दिइएको छ भने स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बीमा, घुम्ती स्वास्थ्य सेवा तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने नीति तय गरिएको छ ।

पूर्वाधार विकासतर्फ अधुरा आयोजना सम्पन्न गर्ने, ठूला तथा दीर्घकालीन योजनालाई प्राथमिकता दिने, सडक स्तरोन्नति, पुल निर्माण र वातावरणमैत्री विकासलाई अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सुशासन, डिजिटल सेवा विस्तार, भ्रष्टाचार न्यूनीकरण, राजस्वको दायरा विस्तार तथा नागरिकमैत्री सेवा प्रवाहलाई समेत नीति तथा कार्यक्रमको प्रमुख प्राथमिकतामा राखेको छ ।

अध्यक्ष गुरुङले सीमित स्रोत साधनको प्रभावकारी परिचालनमार्फत सामाजिक न्यायमा आधारित समृद्ध मादी गाउँपालिका निर्माण गर्ने लक्ष्य हासिल गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->