बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मादी गाउँपालिकाले ल्यायो ६५ करोड १२ लाखको बजेट

मादी गाउँपालिकाले ल्यायो ६५ करोड १२ लाखको बजेट

प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ पुँजीगत तथा ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८३, सोमबार

पोखरा / कास्कीको मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै आगामी वर्षको बजेट तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको हो ।

प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ पुँजीगत तथा ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ । संघीय सशर्त अनुदान अन्तर्गतका कार्यक्रमहरू चालु खर्च शीर्षकमा समावेश गरिएकाले चालु बजेट बढी देखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले पेश गरेको बजेटका स्रोतमध्ये संघीय समानीकरण अनुदानमा १० करोड २६ लाख, संघीय सशर्त अनुदानमा २८ करोड २९ लाख, संघीय राजस्व बाडँफाँडमा ११ करोड ८२ लाख ९८ हजार अनुमान गरिएको छ ।

यसैगरी प्रदेश समानीकरण अनुदानमा १ करोड ११ लाख ९९ हजार, प्रदेश समपुरक अनुदानमा ४५ लाख, प्रदेश विशेष अनुदामा ४० लाख प्रदेश राजस्व बाँडफाँडमा १ करोड १८ लाख ३७ हजार ५७५ बजेटको स्रोत प्रस्ताव गरिएको छ । त्यस्तै स्थानीय राजस्व बाँडफाँडबाट ५६ लाख, रोयल्टी २ करोड ६० लाख, आन्तरिक आय १ करोड ११ लाख ९६ हजार ४२४, अनुमानित मौज्दात (अल्या) ६ करोड ३१ लाख २० हजार र लागत सहभागिता नगद १ करोड हुने अनुमान गरिएको छ ।

चालु वर्षमा ६१ प्रतिशत बजेट खर्च

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा ६२ करोड १९ लाख ७१ हजार रुपैयाँको बजेटमध्ये हालसम्म ३८ करोड १० लाख १७ हजार रुपैयाँ खर्च भएको जनाएको छ । विनियोजित बजेटको आधारमा वित्तीय प्रगति ६१.२५ प्रतिशत रहेको छ भने निकासाको आधारमा ७४.७९ प्रतिशत प्रगति हासिल भएको उल्लेख गरिएको छ । पुँजीगततर्फ प्रतिकूल मौसम र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण अपेक्षित खर्च हुन नसकेको गाउँपालिकाको भनाइ छ ।

संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत १६ करोड ४५ लाख ४० हजार रुपैयाँ विनियोजन भएर कार्यान्वयन भइरहेको जानकारी पनि गाउँपालिकाले दिएको छ ।

कृषिलाई व्यवसायीकरण गर्ने लक्ष्य

आगामी वर्ष कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने नीति लिइएको छ । मौरीपालन, उन्नत बीउबिजन, प्लास्टिक टनेल, प्लास्टिक पोखरी, कृषि औजार तथा उपकरणमा अनुदान दिने व्यवस्था गरिएको छ । बाँझो जमिनको उपयोग, बगर खेती प्रवद्र्धन, रैथाने बाली संरक्षण, माटो स्वास्थ्य सुधार र किसान प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

मादीको पहिचानसँग जोडिएको गुन्द्रुक उत्पादनलाई गुणस्तरीय बनाउँदै यसको बजारीकरणमा विशेष जोड दिइने भएको छ । व्यावसायिक मौरीपालनको आधुनिकीकरण तथा महको ब्रान्डिङका लागि समेत बजेट छुट्याइएको छ ।

आर्थिक विकासतर्फ कृषि, पशुपालन, पर्यटन, सहकारी र वन व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न ३ करोड २९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षामा इन्टरनेट, दिवा खाजा र विद्यालय बस

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकको भूमिका सुदृढ गर्ने, महिला शिक्षकको सुत्केरी बिदाको समयमा सट्टा शिक्षक व्यवस्था गर्ने तथा विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम अघि सारिएको छ ।

कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजामा संघीय सरकारबाट उपलब्ध हुने २० रुपैयाँमा गाउँपालिकाले थप ५ रुपैयाँ थपेर प्रतिविद्यार्थी प्रतिदिन २५ रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

विद्यालय बस सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन बस खरिद तथा भाडा अनुदानको समेत व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवामा बीमा र निःशुल्क एम्बुलेन्स

गाउँपालिकाले आधारभूत अस्पताल तथा स्वास्थ्य संस्थाको पहुँच विस्तार गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ । क्यान्सर, मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगको रोकथाम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ ।

मानसिक स्वास्थ्य कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, निःशुल्क एकतर्फी एम्बुलेन्स सेवा तथा दीर्घरोगीलाई मासिक पाँच हजार रुपैयाँ औषधि उपचार खर्च उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

महिला, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित सशक्तीकरण अभियानसमेत सञ्चालन गरिने भएको छ ।

सामाजिक विकासतर्फ कुल ३२ करोड ५४ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अधुरा आयोजना सम्पन्न गर्ने प्राथमिकता

गाउँपालिकाले निर्माणाधीन कृषि संकलन केन्द्र, शीत भण्डार, पर्यटन पूर्वाधार तथा नागरिक आरोग्य केन्द्रलाई आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको छ । वडा नम्बर ७ मा प्रदेश सरकारसँगको साझेदारीमा छाचोक–चिले–भैंसे सडक स्तरोन्नति गरिने भएको छ ।

विभिन्न बस्तीलाई वडा केन्द्रसँग जोड्ने सडकको मर्मत तथा स्तरोन्नति, विद्यालय भवनको संरक्षण तथा सामुदायिक भवन, खानेपानी, सिँचाइ र गोरेटो बाटो निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

पर्यटन पूर्वाधार विस्तारमार्फत गाउँपालिकालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । पूर्वाधार विकासतर्फ १३ करोड ५४ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सुशासन र डिजिटल प्रणालीमा जोड

गाउँपालिकाले राजस्व चुहावट नियन्त्रण, विद्युतीय भुक्तानी प्रणाली, डिजिटल अभिलेख व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी तालिमलाई प्राथमिकतामा राखेको छ । बेरुजु शून्यमा झार्ने नीति अवलम्बन गर्दै पुराना पेश्की फछ्र्योटमा समेत कडाइ गरिने उल्लेख गरिएको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका कार्यक्रम सञ्चालनका लागि ९० लाख ३ हजार रुपैयाँ बजेट छुट्याइएको छ । वडास्तरीय योजना तथा कार्यक्रम कार्यान्वयनका लागि १२ वटै वडालाई एकमुष्ट ८ करोड ८ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले आगामी वर्षको बजेटका लागि संघीय तथा प्रदेश सरकारका अनुदान, राजस्व बाँडफाँट, रोयल्टी, आन्तरिक आय, मौज्दात रकम र लागत सहभागितामार्फत स्रोत व्यवस्थापन गर्ने जनाएको छ ।

गाउँपालिकाले सीमित स्रोतसाधनबीच कृषि, पर्यटन, सामाजिक सेवा र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै समृद्ध मादी निर्माणको लक्ष्यसहित बजेट कार्यान्वयनमा लैजाने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->