बागलुङ/जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७६ करोड ८८ लाख रुपैयाँको बजेट ल्याएको छ । नगर प्रमुख नरबहादुर पुनले ल्याएको नीति तथा कार्यक्रम र उपप्रमुख हरिहर शर्माले ल्याएको बजेट कार्यक्रम सोमबार १९ औं नगरसभामा पेश भएको थियो । उक्त नीति कार्यक्रम र बजेट सभाले पास समेत गरेको छ । सोमबारै उपप्रमुख शर्माले विनियोजन विधेयक पनि पेश गरेका छन् ।
पारित बजेटमध्ये संघिय सरकारको राजश्व बाँडफाँडबाट ९ करोड १७ लाख, संघिय सरकार वित्तिय समानीकरण अनुदानबाट ११ करोड १३ लाख, संघिय सरकार सशर्त अनुदानबाट ४२ करोड, प्रदेश सरकार वित्तिय समानीकरण अनुदानबाट १ करोड ४३ लाख, आन्तरिक आयबाट १ करोड ५५ लाख ५० हजार आय गर्ने अनुमान गरिएको छ । खर्चतर्फ सामाजिक विकासमा ५ करोड ६६ लाख, आर्थिक विकासमा १ करोड ८८ लाख, पुर्वाधार विकासतर्फ ११ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।
जैमिनीले गत वर्षको ‘सेरा जाउँ केरा खाउँ’ नारालाई विस्तार गर्दै केराको उत्पादन बढाउन कालीगण्डकी करिडोरमा नयाँ केरा पकेट क्षेत्र विस्तार गराउन १२ लाख रुपैयाँ पनि विनियोजन गरेको छ । तीन वर्षदेखि फरक फरक स्थानमा पकेट विस्तार गरेको जैमिनीले चार पकेट मिलाएर एक ब्लक बनाउने लक्ष्य राखेको छ ।
सडक छेउमा बस्ने किसानलाई लक्षित गरेर केरा पकेटको कार्यक्रम ल्याएको हो । जैमिनीमा केरा खेतीको उर्वर क्षेत्र हो । यसरी केरा विस्तार गर्दा आयात प्रतिस्थापनमा सहयोग समेत पुग्ने विश्वास लिएको शर्माले जानकारी दिए ।
जैमिनीले नागरिकको स्वास्थ्य उपचारमा साथ दिने गरी बजेटको व्यवस्थापन गरेको छ । नगरको स्वास्थ्य उपचार कोषमा ३० लाख बजेट विनियोजन गरेको हो । यो बजेटले बिरामीको उपचारमा साथ दिइने छ भने दिर्घरोग लागेकालाई उपचारमा सहयोग गरिनेछ ।
गतवर्ष ८१ जना दिर्घरोगी बिरामीको उपचारमा मासिक ५ हजार दिएको नगरपालिकाले यो वर्ष पनि उपचारमा साथ दिने लक्ष्य राखेको हो । स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाका कुरुवा बस्ने गरी साझेदारीमा प्रसुती प्रतीक्षा घर बनाएको छ ।
जैमिनीले बालमैत्री नगर घोषणा गरिसकेकोले अद्यावधिक गर्ने, बालविवाह निरुत्साहित गर्ने, न्यायिक समितिको प्रभावकारिताका लागि युवा सम्मेलन गर्ने, नगरभित्रको लिड विद्यालय छानेर छात्रावास सहितको व्यवस्थापन गर्ने नीतिमा उल्लेख छ ।
जैमिनी नगरपालिकाले पछिल्लो तीनचार वर्षदेखिनै घरबारविहिनलाई घर बनाइदिने, सुकुम्बासी व्यवस्थापन, अव्यवस्थित बसोबासीलाई उचित व्यवस्थापनको काम गर्दै आएको थियो । आगामी वर्षभित्रै ती सबै समस्या समाधान गर्ने गरी नीति र कार्यक्रम तथा सो कार्य सम्पन्न गर्न बजेट समेत व्यवस्थापन गरेको हो ।
आवासविहिनलाई आवास बनाईदिने योजना पनि नगरको छ । नगरपालिकाले ३१ लख ५० हजार रुपैयाँ विनियोजन गरेर आवास बनाउने लक्ष्य राखेको हो । खरका छाना विस्थापित गर्ने कार्यका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरेको छ । पछिल्ला केही वर्षदेखि नै खरका छाना भएका परिवारलाई जस्ता पाता खरिद गरेर दिने गरेको छ ।
१९ औं नगरसभामा उनले पेश गरेको बजेटमा असहाय, अनाथ र अपांग भएका नागरिकको जीवन रक्षाका लागि मानव सेवा आश्रमसँग साझेदारी गर्दै उनीहरुको व्यवस्थापनका लािग १० लाख रुपैयाँ समेत विनियोजन गरेको हो ।





