पोखरा/ नक्कली सुकुम्बासी खडा गरेर सरकारी विद्यालयको जग्गा हिनामिना गरेको अभियोगमा कास्की मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६ जनालाई विशेष अदालतले ६ महिना कैद र ३० हजार रुपैयाँ जरीवानाको फैसला गरेको छ । पोखरा २६ मा रहेको अमर ज्योती माध्यमिक विद्यालयको जग्गाको मुद्धामा उनीहरुलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो । दोषी ठहर हुनेहरुमा कास्की मालपोतका पूर्वप्रमुख रामचन्द्र अधिकारी, भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, सदस्यहरु आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमकुमारी नेपाली रहेका छन् । यस्तै, नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकलाई पनि अदालतले सजाय सुनाएको छ ।
उक्त विद्यालयको ३ रोपनी ३ आना जग्गा कीर्ते गरी व्यक्तिलाई हस्तान्तरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेको थियो । २०८२ पुसमा उनीहरुबिरुद्ध अख्तियारले मुद्धा दायर गरेको थियो ।





