पोखरा/गएको फागुन २१ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ गण्डकीका १८ मध्ये १५ सिट जित्यो । म्याग्दीमा रास्वपाले नै सघाएका महावीर पुन विजयी हुँदा यो दलले समानुपातिकतर्फ कुल समानुपातिकतर्फ पनि ५ लाख २५ हजार ६ ३५ मतसहित पहिलो स्थान हासिल ग¥यो । उसका उम्मेदवारहरुलाई प्रत्यक्षतर्फ पनि भारी मतान्तरसहित विजय दिलाउने काम चाहिँ प्रचारमा खटिएका कार्यकर्ताले गरेका थिए । तर, समानुपातिकतर्फ यति ठूलो मत पाउने रास्वपाको गण्डकीमा जम्माजम्मी ६१ हजार ९२५ जनामात्र संगठित सदस्य रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रमा महामन्त्री बुर्लाकोटीबाट प्रस्तुत सांगठनिक प्रतिवेदन अनुसार संगठित सदस्यमध्ये १८ देखि ४५ वर्ष उमेर समूहका सदस्य संख्या ३३ हजार २३७ रहेको छ । १८ वर्षमुनिका ५ हजार ११६ सदस्य हुँदा ४६ देखि ६५ वर्ष उमेर समूहका १४ हजार ५१०,६५ वर्षमाथि २ हजार ५५ र उमेर समूह नखुलेका ६ हजार ९६७ रहेका छन् । जातिगत रुपले हेर्ने हो भने रास्वपामा सवैभन्दा बढी खस आर्य सदस्य रहेका छन् । ३९ हजार २३५ जना सदस्य खस आर्य समूहको रहँदा जनजाति १३ हजार ९८० र दलितको संख्या ६ हजार ५९७ रहेको छ । यता,चुनावमा महिलाहरुको बढी मत प्राप्त भएको ठानिएको रास्वपामा संगठित सदस्यको संख्या ११ हजार ७३७ मात्र रहेको छ ।
‘चुपचाप घण्टी छाप’ नारा उरालिएको सो चुनावमा रास्वपाका सदस्यबाहेक शुभेच्छुकको संख्या ठूलो रहेको महामन्त्री बुर्लाकोटीको प्रतिवेदनबाट प्रष्ट हुन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गण्डकीको कुल जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ भने यसमा महिलाको हिस्सा ५२.५ प्रतिशत छ । यहाँको परिवारको आकार औषतमा ३.७२ प्रतिशत छ । यो प्रतिवेदन अनुसार एउटा परिवारमा ४ जना बालिग नागरिक छन् भन्ने मान्ने हो भने पनि रास्वपाको सदस्य संख्याको आधारमा उसले प्राप्त गर्ने मत २ लाख ४७ हजार ७ सय हुन आउँछ । यो संख्या उसले प्राप्त गरेको समानुपातिकतर्फको आधा पनि हैन ।
‘पुरानाको रिसले नयाँलाई मत’
डा.विश्वकल्याण पराजुली
पूर्वक्याम्पस प्रमुख
पृथ्वीनारायण क्याम्पस
अहिलेको रास्वपाले ल्याएको मत भनेको अर्कोको रिसले उसको पोल्टामा गएको हो भन्दा फरक पर्दैन । फागुन २१ को मत परिणाम हेर्दा त्यसमा गएको भदौ २३ र २४ को जेनजी आन्दोलनको प्रभाव त देखिन्छ नै तर त्यहाँ मतदाताले उम्मेदवार र रास्वपाको घोषणापत्र हेरेर मत दिएका हैनन् । रास्वपाको फरमा भन्दा पनि पुराना दलहले गरेको गल्तीप्रतिको आक्रोश व्यक्त भयो । रास्वपाको ‘फर’मा हैन कि पुराना दलको, गठबन्धनको संस्कार र भ्रष्टाचारको ‘एगेस्ट’मा मत गयो ।

चुनावमा जित–हार स्वभाविक हो । कसैलाई जिताउने वा हराउने भूमिका खेल्नेहरु समाजका पढालेखा वा अग्रगामी सोच राख्नेहरु हुन्छन् । गएको चुनावमा त्यो वर्गको साथ पनि रास्वपाले पायो । विदेशमा रहनेहरु पनि उसकै पक्षमा देखिए ।
अर्को कुरा के हो भने, रास्वपाले पाएको मत आफ्नो सदस्यको मात्र हैन, अर्को पार्टीलाई मन नपराउनेहरुको मत हो । यो मत स्थिर हुँदैन । गएको फागुन २१ मा रास्वपा ‘क्लाइमेक्स’मा पुगेको हो । उचाइमा पुगेपछि त्यसलाई त्यसलाई जोगाउन सक्नुपर्छ । आउँदा दिनमा रास्वपाले गर्ने कामले अर्को चुनावमा उसको स्थान निर्धारण गर्छ ।





