बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२१ औं असारे रोपाइँ महोत्सव शिशुवामा

२१ औं असारे रोपाइँ महोत्सव शिशुवामा

महोत्सव यसअघि असार १५ गतेका दिन हुँदै आएको थियो । तर यसपटक उक्त दिन ज्येष्ठी पूर्णिमा परेकाले किसानले हलो नचलाउने परम्परा अनुसार यस वर्ष महोत्सव असार १४ गते आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ।


  • ढाेरपाटन संवाददाता
  • असार १० २०८३, बुधबार

पोखरा / पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ पोखरा–३० स्थित लेखनाथ शिशुवा देउराली खोला छेउमा हुने भएको छ । यसपटकको महोत्सव २१ औँ संस्करणको हो । परिषद्ले आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।

महोत्सव यसअघि असार १५ गतेका दिन हुँदै आएको थियो । तर यसपटक उक्त दिन ज्येष्ठी पूर्णिमा परेकाले किसानले हलो नचलाउने परम्परा अनुसार यस वर्ष महोत्सव असार १४ गते आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ। परिषद्का अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो। पोखरा वरपर रहेका खेतीयोग्य जमिनको संरक्षण, कृषकलाई सम्मान तथा ‘हिलोमा एक पटक, देशको माया सय पटक’ भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानका रूपमा पनि महोत्सवलाई लिइएको छ।

परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्दै ‘पोखरा भ्रमण वर्ष’लाई सफल बनाउनु रहेको छ । साथै, पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीसँग प्रत्यक्ष साक्षात्कार गराउने, नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी गराउने तथा पोखरालाई सबै मौसममा घुम्न सकिने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले बताए ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसीलगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यसैगरी साउने प्रतियोगिता (हल गोरु दौड), असारे भाका सहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड प्रतियोगिता, पत्रकार खुला हिलो दौड तथा पुरुष–महिला रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिनेछ। उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिने परिषदका महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

महोत्सवमा वडा स्तरीय कृषि सञ्जाल पोखरा–३० स्थानीय आयोजकका रूपमा रहेको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा पोखरा महानगरपालिका वडा नं.३० को कार्यालयले कार्यक्रमलाई सहयोग र प्रवर्द्धन गर्नेछन्। महोत्सव सम्पन्न गर्न परिषद्का महासचिव जीवनराज सापकोटाको संयोजकत्वमा ४३ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->