बागलुङ/ सुगंगा स्मृति कोष बागलुङले ‘सुगंगा पुरस्कार-२०८३’ ढोरपाटन सञ्चार प्रालिद्धारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई प्रदान गर्ने भएको छ । कोषको हालै सम्पन्न बैठकले यही असार १८ गतेका दिन गौतमलाई नगद राशी र सम्मान पत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले बताए । अध्यक्ष रोशनका अनुसार तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील गौतमलाई यसपटक पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
पत्रकारिताको माध्यमबाट बागलुङ, साविक धौलागिरी क्षेत्र मात्र नभई समग्र गण्डकी प्रदेशको समसामयिक मुद्दा, विकास र जनचासोलाई निरन्तर उठाउँदै आएको योगदानको कदर गर्दै उनलाई पुरस्कार दिने निर्णय भएको कोषले जनाएको छ ।
प्रधानसम्पादक गौतम ३ दशक बढि समयदेखि पत्रकारितामा सक्रिय छन् । गौतमले यसभन्दा पहिला पनि पत्रकारितासंग समबन्धित विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।
वि.सं.२०५१ देखि पत्रकारिता सुरु गरेका गौतमले स्थानीय श्री धौलागिरी साप्ताहिक, धौलागिरी स्टार साप्ताहिक, न्यू धौलागिरी दैनिक, राष्ट्रिय राजधानी दैनिक, नेपाल समाचार पत्र दैनिक, नेपाल, हिमाल, समय साप्ताहिकमा काम गरेका थिए । हाल उनी ढोरपाटन दैनिकको प्रधान सम्पादक र धौलागिरी एफएमको अध्यक्ष छन् ।
बागलुङका वरिष्ठ पत्रकार स्वर्गीय बिदुर खड्काले आफ्नी आमा सुमित्रा र श्रीमती गंगाको स्मृतिमा कोष स्थापना गरेका थिए । श्रीमती गंगाको २०६५ मा मृत्यु भएपछि खड्काले यो कोष स्थापना गरी २०६६ सालदेखि पुरस्कार वितरण हुँदै आएको हो ।
यो पुरस्कार पत्रकार लगायत सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति तथा संघसंस्थालाई प्रत्येक २/२ वर्षमा प्रदान गरिन्छ । पुरस्कृत हुन लागेका गौतमलाई ‘सुगंगा पुरस्कार-२०८३’ प्रदान गर्न लागिएको हो । यसभन्दा अगाडि यो पुरस्कारबाट राससका तत्कालिन प्रधान सम्पादक एकराज पाठक र एविसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेल लगायत पुरस्कृत भएका छन् ।
यो पुरस्कार साहित्य र पत्रकारिता क्षेत्रका अगुवालाई प्रदान गरिदै आएको अध्यक्ष रोशनले जानकारी दिए । कोषमा ४ लाख रुपैयाँ रहेको र त्यसबाट प्राप्त हुने व्याजबाट नगदसहित सम्मानपत्रले सम्मान गरिने अध्यक्ष रोशनले बताए ।





