बागलुङ/मातृभुमि बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १९ औं स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो ।
आर्थिक कारोबारसंगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक काम गर्दै आएको सहकारीले १९ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रमको भवनमा निर्माण आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटमा मानवसेवा आश्रमको भवनमा निर्माणाधिन छ ।
भवन निर्माणमा साथ दिने उदेश्यसहित सहकारीले आश्रमलाई २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको संस्थाका सचिव राम प्रसाद शर्माले जानकारी दिए । सडक मानवलाई उद्वार गर्दै आश्रय दिँदै आएको आश्रमको भवन सहयोग गरिएको शर्माले बताए ।
२ करोड ३० लाख ४४ हजार ७ सय कुल सेयर पुँजी रहेको सहकारीमा ४ सय २५ जना शेयर सदस्य रहेका छन् । स्थापना दिवसको अवसरमा बोल्दै संस्थाका सल्लाहकार प्रा. डा. राम प्रसाद उपाध्यायले सहकारीले आर्थिक कारोबारसंगै सामाजिक कार्यमा पनि केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।
सहकारीका अध्यक्ष गुणराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव राम प्रसाद शर्माले गरेका थिए ।





